
लमजुङको बेसीशहरमा महिलाहरुद्धारा सञ्चालित लक्ष्मीनारायण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १२ औ बार्षिक साधारण सभा सम्पन्न भएको छ । साकोसका अध्यक्ष सृजना घिमिरेको अध्यक्षतामा भएको साधारसभाको उद्घाटन प्रदेशसभा सदस्य पार्वती तामाङले गर्नुभएको हो ।
कार्यक्रमका प्रमुख अतिथि प्रदेशसभा सदस्य तामाङले अहिले सहकारीका वारेमा धेरै टिका टिप्पणी भएपनि लक्ष्मी नारायण सहकारी सहकारीको नीतिनियम भित्र रहेर सञ्चालनमा रहेको वताउनुभयो । उहाँले सस्था संचालनको क्रममा विभिन्न समस्या आइपर्नु स्वभाविक भएको भन्दै ति समस्यालाई क्रमिक रुपमा सुधार गर्दै अघि बढ्न सुझाव दिनुभयो । आर्थिक पारदर्शिता र सहकारीका सिद्धान्तलाई आत्मसाथ गर्दै संस्थाप्रति सञ्चालक समिति, सेयर सदस्य र कर्मचारी इमान्दार हुनुपर्ने उहाँको भनाई थियो ।

२०६९ सालमा ४० जना शेयर सदस्यहरुबाट सुरु भएको लक्ष्मीनारायण सहकारीमा हाल १५ सय २८ शेयर सदस्य पुगेको साकोसका अध्यक्ष सृजना घिमिरेले वताउनुभयो । सस्थाको प्रतिवेदन प्रस्तुत गर्दै उहाँले पछिल्लो समयमा केहि सहकारीमा देखिएको समस्यालाई लिएर समग्र सहकारीलाई नै अविश्वास गर्न नहुने बताउनुभयो ।
दुई लाख शेयर पुजीबाट सुरु भएको साकोसको शेयर पुँजी हाल ९ लाख ४६ हजार ८ सय रहेको छ । आर्थिक बर्ष २००\०८१ को कुल वासलत ४ करोड ६४ लाख ३ हजार ७ सय ८ रुपैया रहेको छ । गत आर्थिक वर्षमा १२ करोड ७८ लाख ७६ हजार ५ सय ४४ रुपैयाको कारोवार गरेको साकोसले १५ लाख १३ हजार ५ सय ८८ मुनाफा आर्जन गरेको जनाएको छ ।
साधारण सभामा लेखा समिति संयोजक सीता न्यौपाने अधिकारीले साकोसको लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा स्वागत मन्तव्य राख्दै साकोसका उपाध्यक्ष ज्ञानुमाया नखोलाले महिलाहरुको नेतृत्वमा सञ्चालित साकोसले वित्तिय क्षेत्रमा खाली बचत संकलन र ऋण प्रवाह मात्र नभई महिलाहरुलाई आर्थिक एवं समाजिक रुपले सशक्त वनाउन विभिन्न आय आर्जन एवं सिपमुलक कार्यक्रमहरु समेत गर्दै आएको वताउनुभयो ।
कार्यक्रममा लक्ष्मी नारायण पुस्तकालयका अध्यक्ष नराइन बहादुर सुयल, बेसीशहर ८ का वडा सदस्य सरोज दनाई, नेफ्सुकनका व्यवस्थापन सहायक सन्देश घिमिरे, लक्ष्मी नारायण पुस्तकालयका उपाध्यक्ष शुशिलचन्द्र अधिकारी, सल्लाहाकार तेजनारायण अधिकारी, साकोसका सल्लाहाकार मायादेवी पौडेल, आमा समूहहरुको प्रतिनिधित्व गर्दै उषादेवी घिमिरे लगायतले मन्तव्य राख्नुभएको थियो ।

साधारण सभाका अवसरमा संस्थामा कारोबार गर्ने असल बचतकर्ताको रुपमा लक्ष्मी पौडेल, असल ऋणी शान्ता परियार, २०८० को एसईईमा उत्कृष्ट नम्वर ल्याउन सफल सेयर सदस्यका छोराछोरीतर्फ अभिषेश अधिकारी, अंकुश श्रेष्ठ र दिपिका भण्डारीलाई सम्मान गरिएको थियो ।
साकोसका सचिव विमला पौडेलले सञ्चालन गर्नुभएको कार्यक्रममा भगवती जोशीले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
