
लमजुङमा जिल्ला अस्पताल सुरु भएको करिव ४० वर्ष पछि आइसियु कक्ष सञ्चालनमा आएको छ । २०४२ सालमा भवन निमार्ण गरी सुरु भएको जिल्ला अस्पतालको सेवा क्रमश विस्तार गर्ने क्रममा करिब ४ दशक पछि आइसियु कक्ष सञ्चालनमा आएको हो ।
आइसियु कक्षको शनिबार नेपाल सरकारका सुचना तथा सञ्चार मन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गर्नभएको छ । सो अवसरमा मन्त्री गुरुङले नेपालको संविधानको मौलिक हकमा व्यवस्था भएको शिक्षा र स्वास्थ्य लागु गर्ने सरकारको जिम्वेवारी भएकाले त्यो पुरा गर्ने अभियानमा सरकार लागेकोे बताउनुभएको छ ।
हामीलाई ठूलो रोग लाग्यो भने धेरै रकम खर्चेर उपचार गर्न नसकिने अवस्था भएकाले स्वास्थ्य मौलिक हकमा व्यवस्था भएको जस्तो निशुल्क हुनुपर्ने गुरुङको भनाई छ । नेपाल सरकारले सुरु गरेको स्वास्थ्य विमाले केही राहत महसुस हुने आशा गरिएपनि अहिले स्वास्थ्य विमा कागलाई बेल पाक्यो हर्ष न विस्मात जस्तै भएको मन्त्री गुरुङको भनाई थियो । जिल्ला अस्पताल सुरु गर्दा २०४२ सालमा नै बनेका भनवबाट नै सेवाहरु प्रदान गरिदै आएकोले ती भवनहरु धेरै पुरानो र सुविधा युक्त नभएकाले अव भवन निमार्णको लागि पहल गर्ने मन्त्री गुरुङले बताउनुभयो ।

कार्यक्रममा संविधानसभाका सदस्य जमिन्द्रमान घले, जिल्ला समन्वय समिति लमजुङका प्रमुख पूर्णबहादुर गुरुङ बेसीशहर नगरपालिकाका नगर प्रमुख गुुमान सिंह अर्याल, नेपाली कांग्रेसका उपसभापती श्रीकान्त घिमिरे, नेकपा एमालेका उपाध्यक्ष जितबहादुर गुरुङ, नेकपा माओवादीका सुनिल सुनार, राप्रपा लमजुङका उपाध्यक्ष ठाकुर गुरुङ, प्रमुख जिल्ला अधिकारी बुद्धी बहादुर गुरुङ, अस्पतालका मेसु शिशिर देवकोटा लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा दोर्दी गाउँपालिकाका अध्यक्ष युवराज अधिकारी, क्होलासोथर गाउँपालिकाका अध्यक्ष सूर्यप्रसाद गुरुङ, मर्स्याङदी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङ लगायतको उपस्थिती रहेको थियो।
गत बैशाख १८ गतेबाट ५ वटा शैयाबाट सुरु भएको आइसीयु कक्षमा हालसम्म २ सय ६ जनाले सेवा लिएका छन्। प्रदेश सरकारको माताहातमा चलाइएको र दैनिक ४,५ सयको हाराहारीमा विरामीहरु आउने अस्पताललाई थप नयाँ उपकरणहरुको व्यवस्था गर्नुपर्ने, व्यवस्थित र गुणस्तरीय बनाउनुपर्नेमा कार्यक्रमका बक्ताहरुले जोड दिएका थिए । सरकारी अस्पताल भएपनि अस्पतालले विरामीहरुबाट केही शुल्क उठाउने गरेकाले सोही शुल्कबाट पनि अस्पतालमा आवश्यक थप सामग्रीहरु किन्न सकिने बक्ताहरुको भनाई थियो ।
कार्यक्रम व्यवस्थापन समितिका अस्पतालका अध्यक्ष हरीजगं तामाङको अध्यक्षतमा भएकाको थियो भने सदस्य दिपक बरालले सहजिकरण गर्नुभएको थियो ।