नमुना अस्पतालमा एक दिने निशुल्क स्वास्थ्य शिविरको आयोजना

-


     नयाँ दीप    
     भाद्र २९ गते २०८१ मा प्रकाशित


लमजुङको सुन्दबजार नगरपालिकामा रहेको एच.डि.सि.एस नमूना सामूदायिक अस्पतालले शनिबार आयोजना गरेको एक दिने निःशुल्क स्वास्थ्य शिविरमा १ सय ८४ जनाले सेवा लिएका छन् ।

अस्पतालले आयोजना गरेको एक दिने दन्त स्वास्थ्य र फिजियोथेरापी सम्बन्धी शिविरमा दन्त सेवा तर्फ ७२ जना र फिजियोथेरापी तर्फ १ सय १२ जनाले सेवा लिएको अस्पतालले जनाएको छ । जसमध्ये महिला १ सय १२ जना र पुरुष ७२ जना रहेका छन् ।
एचडिसिएस नमूना सामूदायिक अस्पतालमा दैनिक रुपमा नै दन्त स्वास्थ्य सेवा र फिजियोथेरापी सेवा उपलब्ध हुने भए पनि गाउँ गाउँमा रहेका सर्वसाधारणलाई सेवा बारे जानकारी गराउनको लागि र एक दिन निःशुल्क सेवा दिने उद्देश्यले शिविरको आयोजना गरिएको अस्पतालका निर्देशक हेमन्त श्रेष्ठले बताउनुभयो ।

शिविरमा दन्त सेवा तर्फ दाँतको निःशुल्क चेकजाँच, उपचार तथा परामर्श प्रदान गरिएको थियो भने फिजियोथेरापी तर्फ ढाड तथा कम्मरको दुखाई, नसा च्यापिएको, हात खुट्टा झमझमाउने, गर्धन, कुम, कुहिनो, ढाड, घुँडा दुखेको तथा हाड जोर्नी सम्बन्धी समस्याको निशुल्क परामर्श र आवश्यक फिजियोथेरापी विधि सिकाईएको थियो ।

अस्पतालमा दैनिक रुपमा उक्त किसिमका सेवा उपलब्ध हुने भएकोले उल्लेखित समस्या भएका विरामीहरुले सम्पर्क गर्न सकिने अस्पतालले जनाएको छ ।