देशमा संकटको अवस्था आउँदा काङ्ग्रेस एमाले मिल्नुको विकल्प छैन : सञ्चार मन्त्री गुरुङ

-


     नयाँ दीप    
     श्रावण १२ गते २०८१ मा प्रकाशित


देशमा संकटको अवस्था आउँदा देशका ठूला तथा मुख्य पार्टी नेपाली काङ्ग्रेस र नेकपा एमाले मिल्नुको विकल्प नभएको सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले बताउनुभएको छ । लमजुङ सदरमुकाम बेसीशहरमा आयोजित राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेश कमिटीको प्रथम अधिवेशनको उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै मन्त्री गुरुङले यस्तो बताउनुभएको हो ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले विगत देखि नै राष्ट्रिय घटनाक्रम अनुसार कांग्रेस–एमाले मिलेर समस्याको समाधान गर्दै आएको दावी गर्नुभयो । एक डेढ वर्षको अवधिमा २⁄३ पटक सम्म सरकार परिवर्तन भैरहदा देश पछि परेको भन्दै स्थिर सरकारका लागि यसपटक कांग्रेस–एमाले मिलेको मन्त्री गुरुङले दाबी गर्नुभयो ।
सञ्चारमन्त्री भएपछि शनिबार पहिलोपटक गृहजिल्ला लमजुङ आउनुभएका मन्त्री गुरुङले भन्नुभयो ‘अहिलेको देश संकटको अवस्थामा भएकाले कांग्रेस–एमाले मिल्नुको विकल्प थिएन’ उनले भने, ‘कहिले पहिलो पार्टी र तेस्रो पार्टी मिलेर सरकार बनाउने, कहिले दोस्रो पार्टी र तेस्रो पार्टी मिलेर सरकार बनाउने, यस्तै–यस्तैले सरकार स्थिर भएन । जनतामा निराशा छायो । त्यसैले हामी मिलेका हौं ।’

‘झट्ट हेर्दा कांग्रेस–एमालेको गठबन्धन अप्राकृतिक जस्तो देखिन्छ । तर, इतिहास साक्षी छ, नेपालमा जब ठूलो राष्ट्रिय संकट आउँछ, त्यसका लागि कांग्रेस एमाले मिलेकै छ । यो कुनै नौलो कुरा होइन,’ उनले भने । २०४६ सालको पञ्चायत विरोधी अभियान, २०६२–०६३ को जनआन्दोलन, माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन र निरंकुश राजतन्द फल्न, संविधान सभा निर्माण गरी संविधान बनाउन एमाले–कांग्रेस मिलेको उनले उल्लेख गरे । ‘राष्ट्रका लागि निश्चित उद्देश्य लिएर महान उपलब्धि हासिल गर्न कांग्रेस एमाले मिलेकै छ । यस्ता महत्वपूर्ण घटनामा मिलेको यो चौँथो पटक हो, अन्य घटनाहरुमा पनि मिलेका छौं,’ उनले भने । कांग्रेस–कम्युनिष्ट मिल्दा महान उपलब्धिहरु हासिल हुने उनले बताए ।

राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेश कमिटिका संयोजक पिताम्बर खनालको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न नेताहरुको उपस्थिती रहेको थियो । अधिवेशनमा गण्डकी प्रदेश अन्तर्गतका ११ वटा जिल्ला र आयोजक कमिटी गरेर २ सय ५४ जना प्रतिनिधि छनौट गरिएको सहभागी भएका छन् । अधिबेसनले नयाँ राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेश कमिटिको गठन गर्ने छ ।