
अविरल बर्षाका कारण लमजुङको क्ब्होंलासोथर गाउँपालिका र दोर्दी गाउँपालिकामा पहिरोले घर बगाउँदा ५ जनाको मृत्यु भएको छ।
उत्तरकन्याको बगुमस्थित पच्यु टोलमा गएराति पहिरो जाँदा तीन घर बगाउँदा पहिरोमा परि ४ जनाको मृत्यु भएको छ।
क्ब्होंलासोथर गाउँपालिका ३ का वडासदस्य विनप्रसाद घलेका अनुसार स्थानीय रूद्रमान गुरूङ, पञ्चकुमारी गुरूङ र गाउँपालिकाका योजना शाखा प्रमुख चित्र घलेको घर पहिरोले बगाएको छ। पहिरोमा परेर ६९ वर्षीय रूद्रमान गुरूङ, ३६ वर्षिय पञ्चकुमारी गुरूङ, उनका दुई छोरीहरू ७ वर्षिया ईच्छा गुरूङ र ५ नम्रता गुरूङको मृत्यु भएको हो।
रूद्रमानको श्रीमती छिमेकी घरमा सुतेको र चित्र घले गाउँपालिकाको केन्द्र मालिङमा रहेकाले पहिरोबाट बचेको वडासदस्य घलेले जनकारी दिए। पहिरोमा चित्रका भाइ भिमबहादुर घले भने घाइते भएका छन्।
घटनास्थलमा सदरमुकाम बेसीसहर र मालिङबाट प्रहरी टोली जाँदै गरेको प्रहरी निरीक्षक थानेश्वर चपाईले जानकारी दिए।
त्यसैगरी गएरातीकै पहिरोका कारण दोर्दि गाउँपालिका ९, स्याउतमा दुई जना घाइते भएकोमा दुवैलाई उपचारका लागि जिल्ला अस्पतालमा ल्याईएकोमा १७ बर्षीय बिकल सुनारको मृत्यु भएको हो । घाईते १८ बर्षीय मिलन सुनारको भने, अस्पतालमै उपचार भैरहेको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ। ।