
काठमाडौं । यस वर्षको मनसुनमा देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण जल तथा मौसम विज्ञान विभागले गरेको छ । वर्षा धेरै हुँदाहुँदै तापक्रम पनि बढ्ने भएकाले मौसमी घटना धेरै हुनसक्ने मौसमविदहरुको चेतावनी छ ।
दक्षिण एसियाली जलवायु फोरम र अन्तर्राष्ट्रिय विज्ञहरुको विश्लेषणका आधारमा विभागले यस वर्षको मनसुनबारे आफ्नो प्रक्षेपण सार्वजनिक गरेको छ ।
विभागका अनुसार सुदूरपश्चिम प्रदेशको उत्तरी–पश्चिमी भूभाग, बागमती प्रदेशको दक्षिण–पूर्वी भूभाग, मधेश प्रदेशको मध्य भूभाग र कोशी प्रदेशको मध्य तथा मध्यपश्चिमी भूभागमा सरदर नै वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत छ ।
देशका अधिकांश स्थानमा अधिकतम र न्यूनतम दुवै तापक्रम सरदरभन्दा बढी हुने सम्भावना ३५ देखि ६५ प्रतिशतसम्म रहेको विभागका वरिष्ठ मौसमविद सुदर्शन हुमागाईंले जानकारी दिए । कर्णाली प्रदेशको पश्चिमी भूभाग, गण्डकी प्रदेशको मध्य भूभाग र कोशी प्रदेशको उत्तर–पूर्वी भूभागमा अधिकतम तापक्रम तथा सुदूरपश्चिम, गण्डकी र बागमती प्रदेशका थोरै भूभागमा न्यूनतम तापक्रम सरदर रहने सम्भावना छ ।
वर्षा धेरै हुँदाहुँदै तापक्रम बढ्नुलाई राम्रो संकेत मान्न नसकिने विभागका वरिष्ठ मौसमविद सुदर्शन हुमागाईं बताउँछन् । ‘वर्षा पनि सरदरभन्दा बढी र तापक्रम पनि सरदरभन्दा बढी हुँदा हामीले चरम मौसमी घटनाहरु धेरै व्यहोर्नुपर्छ कि भन्ने अनुमान गर्न सक्छौं । त्यसैले चनाखो हुनुपर्ने देखिन्छ,’ हुमागाईंले भने ।
मनसुन दक्षिण हिन्द महासागरबाट सुरु हुन्छ । सामान्यतया नेपालमा १३ जुनबाट मनसुन प्रवेश गरेर २ अक्टोबरमा बाहिरिने गर्छ । नेपालमा सबभन्दा छोटो मनसुन अवधि सन् १९७९ मा थियो । सो वर्ष ७३ दिन मात्रै मनसुन अवधि कायम थियो । गतवर्ष भने सर्वाधिक लामो मनसुन अवधि १३४ दिन थियो ।
मनसुन नजिकिँदै गएकाले सम्भावित क्षतिबाट जोगिन प्रतिकार्य योजना आवश्यक रहेको बताइएको छ । ‘नेपालको १०–११ वर्षको तथ्यांकहरुलाई हेर्दा विपदका कारण जति पनि क्षति हुन्छन्, सबैभन्दा बढी मनसुनजन्य विपदका कारणले हुने हुँदाा प्रतिकार्य योजना बनाउन जरुरी रहेको मौसम विज्ञहरुको भनाई छ ।