
ऐतिहासिक, धार्मिक, प्राकृतिक, पुरातात्विक र सांस्कृतिक गन्तब्य लमजुङको गाउँशहरमा यही आउँदो चैतेदशैंमा चैतेदशैं सांस्कृतिक महोत्सवको आयोजना हुने भएको छ । यहि चैत २८ गते देखि बैशाख ४ गते सम्म विभिन्न कार्यक्रम सहितको सांस्कृतिक महोत्सवको आयोजना गरिएको हो ।
गाउँशहरको ऐतिहासिक, धार्मिक, पर्यटकीय र सांस्कृतिक सम्पदा र पुरातात्विक महत्वलाई राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा चिनाउन महोत्सव आयोजना गरिएको हो । चैतेदशैं पर्व नजिकिदै गर्दा तयारी र प्रचारप्रसारलाई तिब्र पारिएको छ ।
सदरमुकाम बेसीशहरबाट ८ किलोमिटरको दुरीमा रहेको गाउँशहरमा शाहवंशीय राजाहरूको उद्गमस्थल मानिने लमजुुङको गाउँशहरमा हरेक बर्ष चैत्राष्टमीमा ठूलो धार्मिक मेला लाग्ने गर्दछ । गाउँशहरको लमजुङ दरबारसंगै रहेकी कालिका भगवती शाहबंशकी कूलदेवीको रुपमा प्रसिद्ध छन् । मनोकामना पुरा गर्ने देवीको रुपमा हजारौं भक्तजनले यस मन्दिरमा आई पूजा आराधना गर्नुका साथै पञ्चबली दिने गर्छन् ।
‘ऐतिहासिक, धार्मिक, पर्यटन र साँस्कृतिक संगम बनाऔं, गाउँशहर चैतेदशै खेलकुद तथा साँस्कृतिक कार्यक्रमम रमाऔं’ भन्ने मुल नाराका साथ गाउँशहरमा रहेको लमजुङ कालिका युथ क्लवले सांस्कृतिक महोत्सवको आयोजना गरेको हो ।
कालिका मन्दिरसंगै रहेका धार्मिक एवं पुरातात्विक महत्वका शिवालय मन्दिर, गोरखनाथ मन्दिर, भीमसेन मन्दिर र काउलेपानी देवीको मन्दिर, राजा यशोब्रह्म शाहको शालिक, कुसुण्डे ओडार, पुरानोकोट गढी, शान्ति स्तूपा, चण्डीदेवी मन्दिर, र दलीत शिल्पी संग्राहलय गाउँशहरका अन्य आकर्षक गन्तब्यहरु हुन् ।
महोत्सव अन्तर्गत चैत २८ देखि सेवेन ए साइड फुटबल प्रतियोगिता शुरु हुने छ । प्रतियोगितामा पहिलो र दोस्रो हुने टीमका लागि क्रमशः नगद ५० हजार र ३० हजार पुरस्कार राखिएको छ ।
बैशाख ४ गते चैतेदशैं मेला अन्तर्गत सांस्कृतिक झाँकी, छेलो प्रतियोगिता राखिएको छ भने लोक स्वर सम्राट राजु परियार, माया गुरुङ, उमा गुरुङ, मञ्जु वि.क लगायत ख्यातिप्राप्त कलाकारहरुको सांगितीक कार्यक्रम तय गरिनुका साथै राती ठाडो भाकाको कार्यक्रम राखिएको छ ।
गाउँशहर प्रकृतिक सुन्दरताले भरिपूर्ण ठाउँसमेत हो । यहाँबाट माछापुच्छ्रे, अन्नपूर्ण, लमजुङ हिमाल, मनासुलु, पिक उनन्तीस, डा. हर्क पिक, हिमालचुली, बौद्ध हिमाल लगायत दर्जनौं हिमश्रृंखला आँखै अगाडि देखिन्छन् ।
गाउँशहरबाट नागबेली हुँदै सुसाउँदै बगेको मर्स्याङदी नदी र यसको किनारामा रहेको लमजुङ सदरमुकाम बेसीशहरको दृष्यावलोकन गर्न सकिन्छ । ब्राह्मण, क्षेत्री, नेवार, गुरुङ, मगर, भुजेल, सार्की, दमै, कामी जातिको मिश्रित बसोबास रहेको गाउँशहर सांस्कृतिक रुपमा उतिकै महत्वपूर्ण स्थान हो ।
नेपालकै उत्कृष्ट होमस्टेको उपमा पाएको काउलेपानी होमस्टे गाउँशहरमै पर्छ । लमजुङकै जेठो विद्यालय लमजुङ माध्यमिक विद्यालयसमेत यही ठाउँमा पर्दछ । यस बर्ष सोही पर्वको अवसर पारेर महोत्सवको आयोजना गरिएको हो ।
गाउँशहर बाईसी, चौबिसी र शाहवंशीय राज्य व्यवस्थाको इतिहाससँग जोडिएको ठाउँ हो । यसै स्थानबाट नेपाल एकीकरणको सुरुवात भएको मानिन्छ । तत्कालीन लमजुङका राजकुमार द्रब्य शाहले लिगलिग हुँदै गोरखा राज्यमा विजय पाएपछि नै उनका बंशज पृथ्वीनारायण शाहलाई नेपाल एकीकरणको खाका कोर्न सजिलो भएको थियो ।
यस अघि २०७० सालमा पहिलो पटक तीन दिनसम्म गाउँशहर महोत्सवको आयोजना गरिएको थियो ।