विद्यार्थीहरु पढ्दै कमाउँदै

-


     प्रमिशा विक     
     फागुन १५ गते २०८० मा प्रकाशित


लमजुङको राइनास नगरपालिकामा वडा नं ८ मा रहेको राइनास बहु प्राविधिक शिक्षालयमा  कृषि तथा बाली विज्ञानमा अध्ययनरत तेस्रो सेमिस्टारका र तेस्रो वर्षका विद्यार्थीहरुले आलु खेती गरेका छन् । सिटिइभिटिको अभियान मै रहेको सिक, कमाउ र तिर कार्यक्रममा रहेर पढ्दै गरेका विद्यार्थीहरुलाई अहिले आलु खेती गर्न लगाएको हो ।

मध्यपहाडी लोकमार्ग नजिकै पर्ने स्थानीय रामजी बिलास पन्तको २ रोपनी जग्गामा ५ बर्षका लागि भाडामा लिएर आलु खेती सुरु गरिएको शिक्षालयका कृषि प्रशिक्षक भावना अर्यालले बताउनुभयो । २ रोपनि जग्गामा जनकदेव र एम.एच ४२ जातको आलु लगाइएको उहाँले बताउनुभयो । आलु खेतीका लागि चाहिने मलको व्यवस्थापन कृषि सहकारीबाट गरिएको छ ।

आलु लगाइएको सो स्थान नजिकै नहर भएकाले सिँचाइका लागि सहज भएको शिक्षालयका शिक्षक सरोज घिमिरेले बताउनुभयो । आलु खेती पहिलो सुरुवात भएको भएपनि यस अघि शिक्षालयले मौसमी तथा बेमैसमी तरकारीका विरुवा उत्पादन गरि बिक्री गरिसकेको शिक्षालयले जनाएको छ ।

अब उत्पदान हुने चरणमा रहेको आलुलाई स्थानीय बजार हर्राबोट, पाँउदी, धमिलिकुवा, भोटेओडार लगायतका बजारमा खपत गरिने बताइएको छ । तिन वर्षे कृषि बाली विज्ञान र बन विज्ञान विषयको पढाई हुने सो शिक्षालयमा अहिले देशै भरका १ सय बढी बिद्यार्थी अध्ययनरत छन् ।