विद्यालय व्यवस्थापन समितिमा आउन हानाथाप, हुन सकेन सहमती

-


     नयाँ दीप    
     फागुन १ गते २०८० मा प्रकाशित


लमजुङको बेसीशहर ३ बाहुनबेसीमा रहेको यशोब्रह्म माध्यमिक विद्यालयको व्यवस्थापन समिति छनोटमा दलित कोटामा सहमती हुन नसकेपछि स्थगित गरिएको छ ।

मगंलबार विद्यालयमा आयोजना गरिएको अभिभावकहरुको भेलाले खुल्ला सदस्य २ जना, महिला तर्फबाट १ जना छनोट गरेको छ भने दलित सदस्यमा भने सहमती नभएपछि छनोट गर्न नसकिएको हो ।

विद्यालय व्यवस्थापन समितिको खुल्ला सदस्यहरुमा तिलक दुलाल, कृष्णबहादुर भुजेल र महिलातर्फबाट तारा परियारलाई चयन गरिएको छ । त्यस्तै एक जना दलित सदस्य छनोेट हुनुपर्नेमा ७ जनाले नाम दर्ता गराएका थिए । ७ जनामा सहमती हुन नसकेकोले एक हप्ता भित्र सहमतीको प्रयास गरी टुङ्ग्याइने विद्यालयले जनाएको छ ।

सहमतीको लागि वडा नं ३ का वडाध्यक्ष चित्रबहादुर दनाईको संयोजकत्वमा सहजिकरण समिति बनाइएको छ । त्यस्तै सदस्यमा विद्यालयका प्रधानाध्यापक सुर्यप्रसाद बराल र अन्य तीन जना नवनिर्वाचित सदस्यहरु रहेका छन् ।

दलित कोटामा उमेद्वारी दिनेहरुमा दलबहादुर मजाकोटी, सुसन परियार, सृजना परियार, कर्मा परियार, सीता दुलाल, सोमबहादुर परियार र दिलबहादुर परियार रहेका छन् ।

कार्यक्रममा बेसीशहर नगरपालिका शिक्षा शाखाका अधिकृत रामकृष्ण त्रिपाठीले छनोट प्रकृयाको बारेमा शिक्षा नियमावलीमा भएको कुराहरुको जानकारी गराउनुभएको थियो । कार्यक्रम विव्यसका अध्यक्ष श्रीकान्त घिमिरेको अध्यक्षतामा भएको थियो ।

कार्यक्रममा वडा नं ३ अध्यक्ष चित्रबहादुर दनाई, पूर्व अध्यक्ष अम्बिकाप्रसाद घिमिरे, हरीप्रसाद बराल, करुण बराल, वडा सदस्यहरु कृष्ण भुजेल, महेश भुजेल, उषा बराल, महेन्द्र दनाई, समाजसेवी दिपक बराल लगायतको उपस्थिती रहेको थियो ।