
लमजुङको सदरमुकाम बेसीसहर देखि उत्तर तर्फको क्षेत्र जाने सडकमा लामो कालोपत्रेको काम सुरु भएको छ । निकै लामो समयदेखि निमार्ण कार्यमा ढिलाई भएको बेसीशहर खुदी सडकको पिच गर्ने काम सुरु भएको हो ।
हिमाली जिल्ला मनाङ तर्फ जाने एक मात्रै प्रमुख द्धारको रुपमा रहेको बेसीशहर खुदीको जल्किनी सम्मको ७.८ किलोमिटर सडकमा कालोपत्रे गरिदैछ । गत असार मसान्त सम्ममा नै कालोपत्रे काम सम्पन्न गरिसक्नु पर्ने भएपनि निरन्तर काम नभई ढिलाई भएपछि ०८१ सालको असार मसान्त सम्म निर्माणको लागि म्याद थपिएको थियो ।
हालसम्म २.५ किलोमिटर सडकमा कालोपत्रे गर्ने काम भैसकेको छ । ठाउँ ठाउँमा मापदण्ड अनुसारको पिच नभएको मस्र्याङदी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले बताउनुभयो । भित्ता पट्टी लगाइएको सपोर्ट वालमा गोला ढुगांहरुको प्रयोग गरिएको, पिचको मोटाई ५ सेमी हुनुपर्नेमा कतिपय ठाउँमा कम देखिएको भन्दै कामको अनुगमन हुन नसकेको भन्दै अध्यक्ष गुरुङले बताउनुभयो ।
यता बेसीशहर चामे सडक योजनाका प्रमुख रविन्द्रलाल दासले अहिले भै रहेको काममा प्राविधिक तथा इन्जिनियरहरुले अनुगमन गरिराखेकोले खासै कमी कमजोरी नभएको बताउँदै यदी त्यस्तो कमी कमजोरी फेला परेमा त्यसलाई सुधार गर्न लगाउने बताउनुभयो ।
बाटोको विचमा खरखरे भन्ने ठाउँमा करिव साढे ३ सय मिटर जतिको ठाउँमा निरन्तर पहिरो गैरहने हुनाले त्यो ठाउँमा पहिरो पुनःस्थापना कामको लागि ठेक्का सम्झौता भैसकेको प्रमुख दासको भनाई छ ।
प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले निर्माणको चरणमा रहेको बेसीशहर खुदी सडकको विषयमा हाल कुनै गुनासो नआएको बताउँदै त्यसलाई अझ स्तरीय रुपमा निर्माण सम्पन्न गर्नको लागि अनुगमन गरिने बताउनुभयो ।
आशिष अनिष जेभी कन्स्ट्रक्सन चितवनले कूल ५२ करोड ९६ लाख १६ हजार रुपैया लागत इस्टमेट गरि २५ करोड ३२ लाख १३ हजार रुपैया लागतमा कालोपत्र गर्ने सम्झौता गरेको थियो ।
कतिपय ठाउँमा नाली निर्माण कार्य, वाल उठाउने कार्य ग्राभेल काम हुदै गरेको गरेको छ । ढिलोमा असार मसान्त सम्ममा सबै काम सम्पन्न गरिने बताइएको छ ।
यो सडक सिंगो मनाङ र उत्तरी लमजुङवासीका लागि अत्यावश्यक पूर्वाधार हो। यही बाटो भएर नेपाली सेनाको सडक निर्माण कार्यदलले २०६९ मा हिमाली जिल्ला मनाङ सदरमुकाम चामेसम्म सडक पुयाएको छ अहिले सडक माथिल्लो मनाङको खाङसारसम्म पुगेको छ।
तर सडक बनेको लामो सयम सम्म पनि सडक स्तरउन्नती नहुँदा उत्तरी क्षेत्रका बासिन्दा निकै सास्ती खेप्नुपरेको थियो ।
यहि बाटो हुँदै हजारौं आन्तरिक तथा बाह्य पर्यटक मनाङको थोराङ पास हुँदै अन्नपूर्ण राउण्ड पुरा गर्ने गर्छन् ।
सडक स्तरउन्नती हुन थालेपछि केही सहज हुने भन्दै त्यस क्षेत्रका बासिन्दा खुशी भएका छन् ।