जनताको समस्या सुन्न एमाले अध्यक्ष लमजुङ आउने

-


     नयाँ दीप    
     मंसिर १३ गते २०८० मा प्रकाशित


यहि मंसिर २२ गते लमजुङको सुन्दरवजारमा एमाले अध्यक्ष केपी ओली सहितका कन्द्रिय पदाधिकारी आउने भएका छन् ।
नेकपा एमाले लमजुङले वुधवार बेसिशहरमा आयोजित पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी सो कार्यक्रमका बारेमा जानकारी गराएको हो ।

पत्रकार सम्मेलनमा नेकपा एमाले लमजुङका अध्यक्ष कृष्णप्रसाद अधिकारीले यही मंसिर १४ गतेदेखि सुरु हुने ‘झुलाघाट–चिवाभञ्ज्याङ संकल्प यात्रा’ अन्तर्गत एमाले अध्यक्ष केपी ओली सहितका सम्पूर्ण केन्द्रिय पदाधिकारी सहितको टोली मंसिर २२ गते लमजुङको सुन्दरवजारमा हुने सभालाई सम्बोधन गर्न आउने बताउनुभयो ।

सो अवसरमा एमालेका निवर्तमान केन्द्रिय सदस्य मायानाथ अधिकारीले सो अभियानको लमजुङमा विकासका समस्या पहिचान गर्दै समृद्धिको आधार तयार गर्ने, बलियो राष्ट्रिय एकता निर्माण गर्ने, समाजमा बढेको निराशा चिर्ने उद्देश्य रहेको जानकारी गराउनुभयो ।

अभियान अन्तर्गत एमालेले जनतासँग संवाद गर्दै जनताको समस्या सुन्ने र समस्या संकलन गरी समाधानको बाटो खोजिने जानकारी गराइएको छ ।

केन्द्रिय अध्यक्ष सहितका सम्पूर्ण पदाधिकारीको सो यात्रालाई सफल पार्न नेकपा एमाले लमजुङले जिल्लामा गर्नुपर्ने कामको योजना र जिम्मेवारी निर्धारण गरेको छ । मंगलबार बेसीशहरमा बसेको नेकपा एमाले लमजुङको बिस्तारित बैठकले विभिन्न जिम्मेवारी तोकी काम अघि बढाइएको अध्यक्ष अधिकारीले बताउनुभयो ।

कार्यक्रममा नेकपा एमाले गण्डकी प्रदेश कमिटीका सदस्यहरु प्रेम घले, हिरा विश्वकर्मा, फूलबहादुर थापा, जिल्ला कमिटी सचिव सुवास पौडेल, उपसचिव जितबहादुर गुरुङ लगायतको उपस्थिती रहेको थियो ।