चाडपर्वमा सुरक्षालाई ध्यान दिइ सचेत हुन लमजुङ प्रशासनको आग्रह

- - चाडपर्वका बेला अवाञ्छित क्रियाकलापहरू भए प्रहरीको नजिकको प्रहरी कार्यालयमा खबर गर्न अनुरोध

-


     नयाँ दीप    
     असाेज २६ गते २०८० मा प्रकाशित


नेपालीहरुको पर्वहरु नजिकिदै गर्दा सुरक्षित भएर चाडपर्व मनाउन जिल्ला प्रसाशन कार्यलय लमजुङले अनुरोध गरेको छ । शुक्रबार एक सूचना जारी गर्दै प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले वडा दशैं, तिहार, छठ जस्ता पर्वहरुमा सुरक्षा चुनौतिको रूपमा देखा परेको भन्दै नागरिकलाई सचेत हुन अनुरोध गर्नुभएको हो ।

सूचना पत्रमा भनिएको छ – आफ्नो धर्म, सँस्कृति, रीतिरिवाज, मूल्यमान्यता र परम्परा अनुसार परिवार र साथीभाइबीच हर्षोल्लासका साथ चाडपर्वहरू मर्यादित, अनुशासित र शान्तिपूर्ण रूपमा मनाउनुहुन हार्दिक अनुरोध छ पछिल्लो समय चाडपर्वको समयमा घर छोडेर बाहिर गएको तस्विर सामाजिक सञ्जालमा राख्ने विषय संवेदनशील सुरक्षा चुनौतिको रूपमा देखा परेको छ ।

तसर्थ घर छोडेर अन्यत्र जानुपरेमा उल्लेखित विषयको संवेदनशीलतालाई ध्यानमा राखी छिमेकीलाई जानकारी गराएर मात्र बाहिर जानुहुन अनुरोध छ। यात्रुहरूको सहजताको लागि जिल्लाका विभिन्न ९ स्थानहरू (मनाङे चौतारा, शेरा चोक, रानीकुवा, भोटेओडार बधैँचा, पाउँदी, दुईपिप्ले, पाखुरीचोक, धमिलिकुवा र खुदी ) मा यात्रु सहायता कक्षको स्थापना गरी सञ्चालनमा ल्याइएको छ यसका अतिरिक्त जिल्लाको शान्ति सुरक्षा कायम गर्न सुरक्षा निकायहरूले विभिन्न १३ प्रकारका १५१ वटा सुरक्षा गस्तीहरू सञ्चालन गर्ने व्यहोरा समेत जानकारीका लागि अनुरोध छ ।

चाडपर्वको समयमा हुन सक्ने कालोबजारी तथा मूल्यवृद्धि नियन्त्रण र नागरिक सुरक्षाका लागि कर्मचारी तथा सुरक्षाकर्मीहरू क्रियाशील रहने व्यहोरा समेत जानकारी गराइन्छ समाजमा चोरी, लुटपाट, डकैती र झै झगडा जस्ता सामाजिक अपराधहरू हुन सक्ने तर्फ सचेत रहँदै त्यस्ता अवाञ्छित क्रियाकलापहरू हुन नदिन र हुन बाट जोगिन सर्वसाधारण सबैलाई यसै सूचनाद्वारा सूचित गरिन्छ साथै बजारबाट वस्तु तथा सेवाको उपभोग गर्दा गुणस्तर र मूल्य सूची समेतलाई ध्यान दिनुहुन, सवारी साधनको भाडामा ठगी गर्ने, यात्रुको सामानको सुरक्षामा लापरवाही गर्ने तथा सर्वसाधारणको हित विपरीतका कुनै पनि गैरकानूनी तथा अवाञ्छित क्रियाकलापहरू भए गरेको पाइएमा नेपाल प्रहरीको कन्ट्रोल १०० वा नजिकको प्रहरी कार्यालयमा खबर गर्नुहुन अनुरोध छ ।

चाडपर्वको समयमा जुवा तास खेल्ने÷खेलाउने, मादक तथा नशालु पादर्थ सेवन गरी सामाजिक शिष्टता भङ्ग गर्ने, आतिसवाजी गर्ने, विष्फोटक तथा प्रज्वलनशील पदार्थको ओसारपोसार तथा प्रयोग गर्ने, चर्को आवाजमा बाजा (डिजे) बजाउने र सामाजिक सद्भावमा खलल पुग्ने खालका कुनै पनि अवाञ्छित तथा कानुन विपरीतका गतिविधिहरू नगर्न\नगराउनुहुन समेत यसै सूचना मार्फत् सम्बन्धित सबैमा अनुरोध छ उल्लेखित सूचना विपरीतका गतिविधिहरू भए गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही हुने व्यहोरा समेत यसै सूचना मार्फत् जानकारी गराइन्छ । सूचनापत्रमा भनिएको छ ।