
लमुजङ जिल्लाका स्वास्थ्यकर्मीलाई प्रशामक सेवा सम्बन्धी तालिम प्रदान गरिएको छ । हरियो खर्क अस्पताल पोखराको सुनिता परियोजना कार्यक्रम अन्तरगत जिल्ला अस्पताल लमजुङमा स्वास्थ्यकर्मीलाई २ दिने तालिम प्रदान गरिएको हो ।
तालिम समापन कार्यक्रम गण्डकी प्रदेश सभाका सदस्य भेषबहादुर पौडेलको प्रमुख आतित्थ्यता रहेको थियो भने जिल्ला अस्पताल लमजुङका अध्यक्ष हरीजगं तामाङको अध्यक्षतामा भएको थियो ।
सो अवसरमा पौडेलले आजको समयमा प्रशामक सेवा अत्यावश्यक रहेहको भन्दै तालिमबाट प्राप्त ज्ञानलाई अवसरको रुपमा व्यवहारिक ढंगले सदुपयोग गर्नुपर्ने बताउनुभयो । त्यस्तैगरी अस्पलका अध्यक्ष तामाङले यस किसिमको सेवा लमजुङ अस्पतालमा प्रारम्भिक चरणमा सुरु भैसकेको र यसको विस्तारका लागि राज्य एवं सरकारी तबरबाट कानुनी आधार बनाई लागु गर्नुपर्नेमा जोड दिनुभयो ।

बुधबार तालिम समापनका क्रममा अस्वस्थकर जीवनशैलीका कारणले लाग्ने मुटु रोग, उच्च रक्तचाप, मस्तिष्कघात, पक्षघात, मृगौला सम्बन्धी दिर्घ रोग, श्वास प्रश्वास सम्बन्धी दिर्घ रोग, मधुमेह, क्यान्सर जस्ता नसर्ने खालका रोगहरुको उपचारको क्रममा आउने पिडालाई शारीरिक, मानसिक र सामाजिक रुपमा कम गर्न प्रशामक सेवा सुरु गरिएको हरियो खर्क अस्पतालका डा. अमृता श्रेष्ठले बताउनुभयो । अस्पतालले पिडामा रहेका यस्ता विरामीलाई दुखाई कम गर्नको लागि कडा खालको औषधी मोर्फिन उपलब्ध गराउन पहल गर्नुपर्ने डा.श्रेष्ठले बताउनुभयो ।
रोगको लक्षण देखा परेको सुरुको अवस्था देखि विरामीको मृत्यु पछिको परिवारमा हुने शोकको अवस्था सम्म संस्थाले सर्वाङ्गिण सेवा प्रदान गर्ने डा. राजकुमार गजमेरको भनाई छ । यो सेवा विरामीलाई मात्रै नभइ विरामीका परिवारलाई समेत प्रदान गर्न आवश्यक रहेको डा. गजमेरले बताउनुभयो । यो सेवा अन्र्तगत विरामी र उसको परिवारलाई शारीरिक, मानसिक तथा सामाजिक रुपमा बलियो र सकारात्मक बनाउने गरिन्छ ।
प्रशामक सेवाले प्राणघातक रोग लागेका व्यक्तिहरुका पिडा र लक्षण व्यवस्थापन गरी गुणस्तरीय जीवन जिउन सहयोग गर्ने परियोजनाका व्यवस्थापक विष्णु गिरीले बताउनुभयो । दिर्घ रोगको उपचार गर्दा पनि पूर्ण रुपले निको नहुने हुँदा मृत्यु अगाडिको समयमा परिवार र रोगीलाई एकिकृत बनाउने कोशिस गर्नुपर्ने गिरीको भनाई छ ।
हरियो खर्क अस्पतालले देशका ६ वटा जिल्लामा यो सेवा सुरु गरेको छ । विभिन्न किसिमका दीर्घ रोग तथा प्राणघातक रोग लागेका विरामीहरुलाई अस्पताल, स्वास्थ्य केन्द्र साथै उनीहरुको आफ्नै घरमा समेत सेवा प्रदान गर्ने गरेको गिरीले बताउनुभयो ।
तालिममा हरियो खर्क अस्पतालका केयर फिजिसियन डा. ड्यानियल म्यान्डेले नेपालमा यो सेवा अत्यावश्यक रहेको र निकै प्रभावकारी समेत हुने आफूले गरेकोले अनुसन्धाबाट पुष्टी भएको बताउनुभयो ।
तालिममा हरियो खर्क अस्पतालमा कार्यरत सिनियर तालिम प्रशिक्षक प्रतिमा श्रेष्ठ, तालिम अफिसर अमृता पौडेलको पनि उपस्थिती रहेको थियो ।
समापन कार्यक्रममा अस्पताल व्यवस्थापन समितिका सदस्य बासुदेव थापा, पत्रकार लगायतको उपस्थिती रहेको थियो भने तालिममा सहभागी स्वास्थ्यकर्मीहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो ।










