विभिन्न माग गर्दै स्थानीय तहका कर्मचारी आन्दोलनमा, शुक्रबार देखि कामकाज ठप्प

-


     भरत बाबु घिमिरे    
     असाेज १९ गते २०८० मा प्रकाशित


लमजुङ – तीनै तहका कर्मचारीहरूको समान वृत्ति विकासको माग गर्दै लमजुङका स्थानीय तहका कर्मचारीहरुले शुक्रबार पेन डाउन गरेका छन् । निजामतीको परिभाषा भित्र स्थानीय तहका कर्मचारी समेत समेटिनुपर्ने लगायत विभिन्न माग राख्दै लमजुङका ८ स्थानीय तह कर्मचारीले शुक्रबार ‘पेन डाउन’ गरेर बिरोध जनाएका हुन् ।

कर्मचारीले प्रमुख प्रशासकीय अधिकृतको पद स्थानीय सेवाको नै रहने व्यवस्था गरिनुपर्ने, कल्याणकारी कोष अनिर्वाय र विज्ञापनमा उमेर हद नलाग्ने व्यवस्था गर्न, संघीय निजामती सेवा ऐनको सट्टा एकीकृत निजामती सेवा ऐन जारी गर्नुपर्ने, स्थानीय तहमा वैज्ञानिक पूर्वानुमानयोग्य चक्रीय प्रणालीमा सरुवा गरिनुपर्ने लगायतका माग उनीहरुले राखेका छन् ।

त्यस्तैगरी अस्थायी तथा करार कर्मचारीलाई समेत उचित अधिकार सहित व्यवस्था गरिनुपर्ने, सेवाअवधिको गणनालाई न्यायपूर्ण बनाउनुपर्ने, कर्मचारी र जनप्रतिनिधिबीच दूरी बढाउने गरी सरुवाको प्रणाली राख्न नहुने लगायतका माग उनीहरुको छ ।
कर्मचारीहरुको आन्दोलन देशैभर जारी छ । देशभरका स्थानीय तहमा करिब ६३ हजार कर्मचारको दरबन्दी छ ।

स्थानीय तहमा कर्मचारीहरु आन्दोलित भएपछि अत्यावश्यक बाहेकका सबै सेवा ठप्प भएको बेसीशहर नगरपालिकाका सूचना प्रविधि अधिकृत मुकेश कुँवरले बताउनुभयो ।

कर्मचारीहरुको आन्दोलनले स्थानीय तहको सेवा प्रवाहमा समस्या भएको छ् भने, कामकाज नभएपछि सेवाग्राहीहरु प्रभावित भएका छन् ।