एमालेको गण्डकी प्रदेश अधिवेशन लमजुङका ५ जना निविरोध निर्वाचित,

- अध्यक्ष पदको लागि लमजुङका मायानाथ अधिकारी र म्याग्दीका नवराज शर्मा प्रतिश्पर्धा गर्दै, प्रतिनिधिहरु पनि गुटमा विभाजित

-


     नयाँ दीप    
     असाेज १७ गते २०८० मा प्रकाशित


पोखरा । नेकपा (एमाले) को गण्डकी प्रदेश अधिवेशनमा लमजुङ जिल्लाबाट ५ जना निर्विरोध निर्वाचित भएका छन् ।
प्रदेश अधिवेशनमा जिल्ला भूगोल(पुरुष) तर्फ प्रेम बहादुर घले र फूलबहादुरा थापा, महिलातर्फ लक्ष्मी अधिकारी र विष्णुमाया राना तथा दलितबाट ननदराम वि.क. निर्विरोध निर्वाचित भएका हुन् ।

अधिवेशनमा अध्यक्ष पदको लागि लमजुङका मायानाथ अधिकारी र म्याग्दीका नवराज शर्मा प्रतिश्पर्धा गर्दैछन् । शर्मालाई उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र अधिकारीलाई स्थायी कमिटी सदस्य खगराज अधिकारी पक्षको समर्थन छ ।

यस्तै उपाध्यक्षमा बाबुराम विश्वकर्मा र मीनप्रसाद गुरुङको उम्मेदवारी परेको छ । विक खगराज र गुरुङ पृथ्वीसुब्बा प्यानलका उम्मेदवार हुन् । सचिवमा लमजुङका धनञ्जय दवाडी, कास्कीका रश्मि आचार्यले उम्मेदवारी दिएका छन् । दवाडी पृथ्वीसुब्बा र रश्मी खगराज प्यानलबाट उम्मेदवार बनेका हुन् ।

त्यसैगरी उपसचिवमा अर्जुनकुमार सुनाम, दामबहादुर विक र सन्तोष रावलको उम्मेदवारी परेको छ । उपसचिव महिलामा मन्जु अधिकारी प्यासी र मिना गुरुङको उम्मेदवारी परेको छ ।

गण्डकी प्रदेशको नेतृत्व आफ्नो पक्षमा पार्न यतिबेला गण्डकी प्रदेशका एमाले नेताहरु सकेसम्म कसरत गरिरहेका छन् ।
निर्वाचन समितिका अनुसार १ सय ६२ सदस्यीय प्रदेश कमिटीका लागि ३ सय ८२ जनाको उम्मेदवारी परेको छ । अधिवेशनका लागि प्रदेशका ११ जिल्ला र जनवर्गीय सङ्गठनबाट ९ सय ७ जना प्रतिनिधि आएका छन् ।

संघीय संरचनापछि यो नेकपा एमाले गण्डकीको पहिलो प्रदेश अधिवेशन हो । प्रदेश अधिवेशनमा गुटबन्दी पनि छरपस्टै देखिएको भन्दै सामाजिक सञ्चालनमा चर्चा परिचर्चा र विरोध समेत भैरहेको छ ।

लमजुङबाट अधिवेशनका लागि पोखरा पुगेका प्रतिनिधिहरु पनि गुटमा विभाजित भएका छन् । उनीहरु आ–आफ्ना उमेदवारलाई जिताउन प्रचार प्रसारमा लागेका छन् ।

प्रदेश कमिटीमा खुलातर्फ लमजुङका सिंहबहादुर थापा, गोविन्द बस्नेत र युवा खुल्लातर्फ हिरालाल विश्वकर्माले उमेदवारी दिएका छन् उनीहरु पृथ्वीसुब्बा गुरुङ निकटका हुन् । भूगोलतर्फ गुरुङ प्यानलकै मोहनहरि पौडेल र गोबर्दन गौलीको उमेदवारी परेको छ ।

मतदान प्रक्रिया राष्ट्रिय सभागृह हल पोखरामा विहिबार विहानबाट सुरु हुने र मतदान विद्युतीय मेशिनमार्फत गरिने तयारी भएको बताइएको छ ।