
काठमाडौँ — अभिनेता अनमोल केसी पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले केसीलाई शुक्रबार भक्तपुर र काभ्रेको सिमानास्थित साँगाबाट पक्राउ गरेको हो ।
उनलाई ठगी गरेको उजुरीका आधारमा पक्राउ गरिएको हो । कार्यालयका प्रहरीका अनुसार उनलाई भक्तपुरको साँगा क्षेत्रबाट पक्राउ गरिएको हो ।
उनलाई १० लाख रुपैयाँ ठगी गरेको उजुरी परेको थियो । त्यसको अनुसन्धानका लागि केसीलाई पक्राउ गरिएको प्रहरीले बताएको छ ।
रावायण फिल्मको ‘हिरो’को भूमिकामा खेल्ने सम्झौता गरेर केसीले १० लाख रुपैयाँ एडभान्स लिएका थिए । तर, उनले फिल्म खेल्न आनाकानी गर्दा आफ्नो करिब डेढ करोड लगानी डुबेको निर्माण युनिटको दाबी छ । फिल्म निर्माणमा आवश्यक अन्य विधामा निर्माण युनिटले ऋण खोजेर १ करोड ५० लाख लगानी गरेको भन्दै निर्माण युनिटले प्रहरीमा उजुरी गरेका थिए ।
उजुरी परेपछि प्रहरीले बोलाउँदा अनमोलले ‘नआउने’ बताएपछि प्रहरीले जाहेरी दर्ता गरेर उनलाई पक्राउ प्रहरी कार्यालयले जानकारी दिएको छ । अनमोललाई टेकुस्थित जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा राखिएको छ ।
यस्तै अनमोलविरुद्ध २०७६ मा पनि ठगीको उजुरी परेको थियो । फिलिमस् नेपाल, जयन श्रेष्ठ इन्टरटेटमेन्ट प्रालिबाट निर्माण हुन लागेको फिल्म ‘धूपौरे’मा खेल्न सहमति गरी ५ लाख एडभान्स समेत लिएपनि नखेलेर ठगी गरेको उजुरीमा उल्लेख थियो ।
आपराधिक विश्वासघात गरेको कसुरमा ५ वर्षसम्म कैद सजाय हुने कानुनी व्यवस्था छ । उनी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीका छोरा हुन् ।