
लमजुङको जिल्ला अस्पताल बेसीशहरमा डिउटीमा रहेका डाक्टर वडाध्यक्षबाट कुटिएका छन् । गएराती ११ बजे जिल्ला अस्पताल पुगेका बेसीशहर नगरपालिका– ७ का वडाध्यक्ष ऋषिराम बस्नेतले अस्पतालको वार्डस्थित नर्सिङ स्टेशनमा खटिएका डाक्टर सन्दीप अधिकारीलाई कुटेका हुन् ।
सोमबार साझ पत्रकार सम्मेलन गरी अस्पताल व्यवस्थापन समितिले उक्त घटनाको सार्वजनिक गरिएको हो । सो असवरमा आमाको उपचारका लागि अस्पताल पुगेका वडाअध्यक्ष बस्नेतलाई बिरामी भर्नाका लागि मञ्जुरी नामा गर्न डाक्टरले सुझाव दिँदा, उनले मञ्जुरीनामा गर्न इन्कार गरेका बस्नेतले यसै विषयमा विवाद हुुँदा ड्युटीमा खटिएका डाक्टरमाथि वडाअध्यक्ष बस्नेतद्वारा हातपात भएको लमजुङ अस्पतालका मेसु (मेडिकल सुपरिटेडेन्ट) डाक्टर विशाल तिवारीले बताउनुभयो ।

अस्पताल व्यवस्थापन समितिले निकालेको प्रेस विज्ञप्तीमा भनिएको छ – बस्नेतको आमालाई इमर्जेन्सीमा भर्ना गरी वार्डमा लैजाने क्रममा विरामी उपचारका लागि विरामीका अभिभावकसँग गरिने मञ्जुरीनामा पत्रमा हस्ताक्षर गर्नुपर्ने हुन्छ ।
उक्त मञ्जुरीनामा पत्रमा हस्ताक्षर गर्न इन्कार गर्नुभएको र त्यही क्रममा मलाई यस्तो पत्रमा हस्ताक्षर गर्न लगाउने भन्दै मोवाइलले सेवामा रहनु भएका डा सन्दीप अधिकारीको गालामा हिर्काउनु भयो त्यसपछि पन्चिङ मेसिङले छातीमा हिर्काउनु भयो ।
त्यतिले पनि नपुगेर नर्सिङ स्टेशनको ढोकामा लात्ताले हानेर चुकुल फोरियो भित्र पसेर कुर्चीले हान्न लाग्दा अस्पतालका कर्मचारी कुमारबाबु तिवारी र पार्वती श्रेष्ठले समाउनु भएकोले गम्भिर दुर्घटना टर्यो ।
वडाध्यक्ष जस्तो गरिमामय पदमा निर्वाचित जनप्रतिनिधिको यस्तो हर्कत यो मात्रै होइन यस अघिका मेडिकल सुपरिडेन्ट डा रमेश आचार्य माथि समेत देखाउनु भएको थियो । त्यो बेला अस्पताल भित्र उक्त घटना सामसुम गरी उहाँको राजनीतिक र सामाजिक जीवनलाई कुनै दखल पुराएनौँ ।
६ महिना पनि नबित्दै फेरि अत्यन्त गैरकानुनी, अमानवीय चरित्र प्रदर्शन गर्नुका साथै एउटा डिउटीमा रहेको चिकित्सकमाथि हातपात गर्ने काम भएकोले सार्वजनिक हित स्वास्थ्य सुरक्षा र नैतिकता विरुद्धको ऐन अनुसार कारवाही समेत प्रशासन समक्ष माग गर्दछौँ । विरामीको उपचारमा रहेका डाक्टरलाई कुट्ने घटना अत्यन्तै निन्दनीय हो । यस्तो गतिविधिलाई सञ्चारकर्मी, नागरिक समाज र आम सचेत लमजुङ जनताले गम्भिरता पूर्वक लिनु पर्दछ ।
यस्ता गम्भिर प्रकृतिका घटना सहमतीमा मिलाउँदा तिनै व्यक्तिलाई कसले के गर्न सक्छ र भन्ने बनोबल बढ्दै जान्छ फेरि त्यस्तै घटना घटाउँछन् । चिकित्सकको पूरै मनोबल गिरेको अवस्थामा कुरा काँचै छाडियो भने यस्ता घटना बारम्बार दोहोरिन्छन् ।
अबका दिनमा यस्ता घटना फेरि कोही कतैबाट पनि नहोस् त्यो खालको कानुनी उपचार विना समस्याको दिगो समाधान हुँदैन । जसका लागि अस्पताल व्यवस्थापन समिति सरोकारवाला पक्ष र प्रशासनसँग माग गर्दछ विज्ञप्तीमा भनिएको छ ।
अस्पतालमा भएको पत्रकार सम्मेलनमा अस्पताल व्यवस्थापन समितिका सदस्य बासुदेव थापा, मोहन बहादुर थापा, दिपक बराल, डाक्टर तिलक घिमिरे लगायत अस्पतालमा कार्यरत डाक्टरहरु, नर्स र विभिन्न मिडियामा कार्यरत पत्रकाहरुको उपस्थिती रहेको थियो ।
घटना मिलाउन सोमबार बिहानैदेखि विभिन्न सरोकारवालाहरुको छलफल भएको थियो । तर, मिल्न नसकेपछि डाक्टरहरुले अपराह्न ४ बजेमात्र प्रहरीमा जाहेरी दिए । घटनाका कारण सोमबार अस्पतालको सेवा समेत केहि प्रभावित हुन पुगेको थियो ।
वडाध्यक्ष बस्नेतलाई अस्पतालको शान्ति, सुरक्षामा खलल पुराएको भन्दै गएराती नै प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ ।
बस्नेतलाई सोमबार साँझ लमजुङ जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी थप अनुसन्धानका लागी हिरासतमा लिएको जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी इन्सपेक्टर थानेश्वर चपाईंले बताए ।
यता सोमबार भएको छलफलको क्रममा वडाध्यक्ष बस्नेतले भने रातीको समयमा आफूले बिरामी आमालाई लिएर गएको र अस्पतालले भर्ना लिन नमानेर अन्तै लैजानु भनेपछि विवाद भएको बताएका थिए । विवाद हुँदा चर्काचर्की बोलेपनि हातपात नगरको वडाध्यक्ष बस्नेतले बताएको बताइएको छ । सानो विषयलाई लिएर ठूलो बनाई आफूलाई फसाउन खोजिएको वडाध्यक्ष बस्नेतको भनाई छ ।
सो विषयमा अस्पतालमा जडान गरिएको सिसी क्यामेरामा कैद भएको भिडियो हेर्न पत्रकारले मागेपछि सो दिन साझँ ६ बजेबाट नै सिसी क्यामेरा बन्द कारण उक्त दृष्यहरु सिसी क्यामेरामा कैद हुन नसकेको कुरा अस्पतालले बताएको छ ।