नेपाल क्रिकेट संघको सचिवमा पारस खड्का विजयी

- घरेलु क्रिकेटको संरचना बलियो बनाउने आफ्नो प्राथमिकता रहेको खड्काको भनाई

-


     नयाँ दीप    
     असाेज ६ गते २०८० मा प्रकाशित


काठमाडौँ — नेपाल क्रिकेट संघ (क्यान)को सचिवमा पारस खड्का विजयी भएका छन् । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान खड्का शनिबार भएको क्यानको निर्वाचनमा सचिव पदमा विजयी भएका हुन् ।

क्यानको निर्वाचनमा भएको मतदानमा कुल ८५ मत खसेको थियो । जसमध्ये खड्काले ४८ मत ल्याएर विजयी भएका हुन् भने उनका प्रतिस्पर्धी प्रशान्तविक्रम मल्लले ३७ मत पाएका छन् । खड्का ११ मतान्तरले विजयी भएका हुन् ।

क्यानको अध्यक्षमा चतुरबहादुर चन्द निर्विरोध निर्वाचित भइसकेका छन् । क्यानको उपाध्यक्षमा रोशनकुमार सिंह, कोषाध्यक्षमा पदमबहादुर खड्का र महिला सदस्यमा जयन्तीदेवी भट्ट पनि निर्विरोध निर्वाचित भएका छन् ।

पदाधिकारीमा सचिव र खुला सदस्य तथा प्रदेश सदस्यका लागि निर्वाचन भएको हो ।

नेपाल क्रिकेट संघका नवनिर्वाचित सचिव तथा राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काले घरेलु क्रिकेटको संरचना बलियो बनाउने आफ्नो प्राथमिकता रहेको बताएका छन् । शनिबार भएको क्यानको निर्वाचनबाट सचिवमा विजयी भएपछि खड्काले क्रिकेटको जिल्ला र प्रदेश संरचना बलियो बनाउने पहिलो प्राथमिकता रहेको बताए ।

क्रिकेट खेलबाट संन्यास लिँदै गर्दा आफूले व्यवस्थापनमा आउने इच्छा जाहेर गरेको र अहिले त्यो पूरा भएको खड्काको भनाइ छ । उनले आगामी दिनमा क्रिकेट क्षेत्रमा अझ राम्रो गर्नका लागि तल्लो तहबाट नै काम थाल्नुपर्ने बताएका छन् ।