
काठमाडौं- शिक्षा विधेयकमा १७ बुँदे असहमति राख्दै नेपाल शिक्षक महासंघले आह्वान गरेको प्रदर्शनमा बुधबार देशका विभिन्न स्थानबाट आएका शिक्षकहरु सहभागी भएका छन् । बिहान ११ बज्दा नबन्दै माइतीघरमण्डलमा जम्मा भएका शिक्षकहरुले बानेश्वरसम्म बृहत् सडक प्रदर्शन गरेका हुन्।
संघीय संसद भवन वरपर निषेधित क्षेत्र घोषणा गरेकाले प्रहरीले उनीहरुलाई नयाँबानेश्वरमा रोकेको थियो । शिक्षकहरुको प्रदर्शनका कारण दिनभरजसो तीनकुने माइतीघर सडकमा यातायात अवरुद्ध भयो । साँझ शिक्षकहरु आआफ्नो बासस्थानतिर लागेपछि सडक त सञ्चालनमा आयाे, तर शिक्षकहरुको आन्दोलन कहिलेसम्म हो टुंगो छैन । विद्यालय बन्द गरेर काठमाडौं आएका शिक्षकहरु विधेयक फिर्ता नभएसम्म नफर्किने बताउँछन् ।

विभिन्न नारा लेखिएको प्ले–कार्ड सहित प्रदर्शनमा सहभागी शिक्षकहरु भन्छन् ‘शिक्षा विधेयक शिक्षक, अभिभावक, विद्यार्थीले लेख्ने हो । उनीहरु विना लेखिएको विधेयक मान्य हुने छैन ।’ शिक्षक महासंघले ट्रेड युनियनको अधिकार दिनुपर्ने, प्रधानाध्यापकको नियुक्ति शिक्षक सेवा आयोगबाट हुनुपर्ने, सरुवा, बढुवा र कारबाहीको अधिकार स्थानीय तहलाई दिन नहुने, निवृत्तिभरण तथा पेन्सनको लागि अस्थायी सेवा अवधिको पनि गणना हुनुपर्ने माग शिक्षकले गरेका छन् ।
त्यस्तै राहत दरबन्दीका शिक्षक, साविक उच्चमाविका शिक्षक, अस्थायी र करार शिक्षक, बाल विकास कक्षाका शिक्षक, विशेष शिक्षा र प्राविधिक धारका शिक्षकलाई आन्तरिक परीक्षाबाट स्थायीको व्यवस्था गर्नुपर्ने, विद्यालय कर्मचारीको दरबन्दी सिर्जना गरी स्थायी प्रक्रियामा लैजानुपर्ने लगायत माग अघि सारेको छ । त्यही माग राखेर भएको आन्दोलनमा सहभागी शिक्षकहरुले कुनै न कुनै माग आफ्नो माग मानेका छन् ।

विधेयकमा राखिएको राहत शिक्षकलाई स्थायी प्रक्रियामा लैजाने व्यवस्था कारण आफूहरुले पेशाबाट हट्ने बाध्यता आउने चिन्ता बढेको बताउँछन् । ‘लामो समयदेखि अस्थायी रुपमा काम गरिरहेको शिक्षकहरुलाई परीक्षा लिने बहानामा घोक्रेठ्याक लगाएर निकाल्ने देखिएको छ’, १५–२० वर्षदेखि पढाइरहेका शिक्षकलाई अहिले आएर अयोग्य भन्न नमिल्ने शिक्षकहरुकाे माग छ ।
संसदमा दर्ता भएको शिक्षा विधेयकमा ४ चैत २०७५ पछाडि नियुक्त शिक्षकलाई पेन्सन नदिने, बरु योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सहभागी गराउने व्यवस्था राखिएको छ याे शिक्षकलाई पेन्सन खुवाउन सक्दैनौं भन्ने अन्यायपूर्ण भएको उनिहरुकाे भनाइ छ ।’ शिक्षामन्त्रीले निजी विद्यालयलाई फाइदा हुने गरी विधेयक ल्याएको भन्दै ‘घुमाउरो पाराले निजीलाई प्रोत्साहन र सार्वजनिक स्कुललाई ध्वस्त पार्ने अभियान देखिनएकाे शिक्षककाे आराेप छ ।’

आफ्नो एजेण्डालाई शिक्षकहरुले जुरुक्कै बोकेपछि शिक्षक महासंघका पदाधिकारीहरु उत्साहित देखिएका छन् । र, अब माग पूरा नभएसम्म निरन्तर माइतीघरमण्डलमा भेला हुने र बानेश्वरसम्म प्रदर्शन गर्ने भन्दै महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदी भन्छन्, ‘भोलि अझ ठूलो प्रदर्शन हुन्छ ।’
उनका अनुसार पछिल्लो पटक १६ साउनमा मन्त्रिपरिषद्ले विधेयक पास गरेर संसदमा दर्ता गर्नुअघि उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का नेतृत्वको समितिसँग पनि अनौपचारिक छलफल भएको थियो । त्यही क्रममा निजी विद्यालय सञ्चालकहरुको माग सम्बोधन गर्दै सरकारले विधेयकमा ५ वर्षभित्र गैरनाफामूलक गुठीमा जानुपर्ने प्रावधान हटाएर ऐच्छिक बनायो । तर आफूहरुको माग सम्बोधन नभएको भन्दै शिक्षक महासंघका महासचिव सुवेदी भन्छन्, ‘अरुको विषयमा हाम्रो कुनै टिप्पणी छैन । तर हाम्रा मुद्दा सम्बोधन नगरेकोमा शिक्षकहरु सन्तुष्ट छैनन्, त्यसैले सडकमा आउनुपर्यो ।’

शिक्षा सचिव सुरेश अधिकारी भने शिक्षकहरु हतारिएर सडक आन्दोलनमा गएको बताउँछन् । नियमावली, कार्यविधिबाट सम्बोधन गर्न सकिने विषयलाई समेत विधेयकसँग जोडेर मागका रुपमा अघि सारिएको भन्दै उनले भने, ‘उहाँहरु हतारिएर आन्दोलनमा जानुभयो । अहिले पनि केही बिग्रिएको छैन । वार्ताको टेबलमा आउनुभयो भने थुप्रै विषय क्लियर गर्न सकिन्छ ।’
शिक्षकहरु सडकमा आउनु अघिल्लो दिन मंगलबार मात्र शिक्षा मन्त्रालयले वार्तामा बोलाएको थियो । तर शिक्षामन्त्रीसँग वार्ता नगर्ने भन्दै महासंघका पदाधिकारीहरु गएनन् । अहिले पनि मन्त्रालयसँग वार्ता गर्न तयार छैनन् । अब प्रधानमन्त्री, अर्थमन्त्री र कानुनमन्त्रीका साथै संसदमा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतकहरुसँग मात्र वार्ता गर्ने शिक्षक महासंघले जनाएको छ ।
