
३० भदौ, काठमाडौं । काठमाडौंको तीनकुनेमा एकै परिवारका तीनसहित चार जनाको हत्या भएको छ ।
गैह्रीगाउँको दिव्य सःमिल भित्र धारिलो हतियार प्रहार भएको अवस्थामा चार जनाको शव भेटिएको प्रहरीले जनाएको छ ।
हत्या हुनेहरूमा दोलखा घर भएका करिब ५५ वर्षीय कुमार भुजेल, उनकी श्रीमती शुभद्रा वाइवा र कुमारकी आमा करिब ७० वर्षीया सुमित्रा भुजेल र मोरङ घर भएका करिब १९ वर्षीय नवीन राई रहेको उपत्यका प्रहरी कार्यालयका प्रमुख एआईजी दीपक थापाले जानकारी दिए ।
प्रहरी यो घटनामा संलग्न रहेको आशंकामा २८ वर्षीय दीपेन्द्र राईलाई पक्राउ गरेको छ । उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एआईजी दीपक थापाका अनुसार, राईलाई कपडा र जुत्तामा रगत लागेको अवस्थामा पक्राउ गरिएको हो । उनले मदिरा सेवन गरेको पाइएको छ । घटनाको यकिन कारण खुलेको छैन ।
सामूहिक हत्याकाण्डको अनुसन्धानका लागि नेपाल प्रहरीले ५ सदस्यीय अनुसन्धान समिति गठन गरेको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख एआईजी दीपक थापाले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सोमेन्द्रसिंह राठौरको नेतृत्वमा छानबिन समिति गठन गरेका हुन् ।
काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एसएसपी दिनेशराज मैनालीका अनुसार उक्त समितिमा काठमाडौं प्रहरी परिसरका डीएसपी हरि खतिवडा, काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका डीएसपी सुवास खड्का, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयकी डीएसपी सुरक्षा केसी र प्रहरी वृत्त नयाँ बानेश्वरका प्रहरी निरीक्षक वीरेन्द्र केसी रहेका छन् ।