लमजुङ जिल्ला अदालतमा धेरै सम्बन्ध बिच्छेदका मुद्दा दर्ता, अदालतमा दुई बर्ष नाघेका मुद्दा शुन्य

-


     नयाँ दीप    
     श्रावण ३१ गते २०८० मा प्रकाशित


लमजुङ जिल्ला अदालतमा सबैभन्दा धेरै सम्बन्ध बिच्छेद मुद्दा दर्ता भएका छन । अदालतको बार्षिक कार्य सम्पादनको तथ्याङ्क हेर्दा आर्थिक बर्ष २०७९/०८० मा सम्बन्ध विच्छेद मुद्दाको मात्रै लगत ३ सय ३८ रहेको छ । सम्बन्ध बिच्छेदका मुद्दा ३ सय ३८ मध्ये २ सय ७४ फैसला भई ७४ थान यस आर्थिक बर्षको लागि जिम्वेवारी सरेको छ । आ.ब. २०७८/०७९ मा सम्बन्ध बिच्छेदका मुद्दाको लगत ३ सय ३२ रहेको थियो । जिल्लामा हरेक बर्ष सम्बन्ध बिच्छेदका मुद्दा बढ्दो क्रममा दर्ता भइ रहेको अदालतको तथ्याङ्कबाट देखिएको छ ।

आ.ब. २०७९/०८० मा नयाँ र पुराना गरी कायम विभिन्न ४८ शिर्षकका रहेका मध्ये जम्मा ८ सय ९९ मुद्दा मध्ये सम्बन्ध बिच्छेदका ३ सय ३८, लेनदेन १ सय २१, अंशबण्डा ९५, बैवाहिक सम्बन्ध अन्त्य गरी पाउँ भन्ने मुद्दा ६३, खाने लाउने खर्च भराइ पाउँ २४, लिखत बदर ३२, जबरजस्ति करणी ३९, ज्यान सम्बाधी २३, ठगी ५, जुवा ५, लागू औषध १३, बन सम्बन्धी ९, चेक अदादर २८, निषेधाज्ञा ७, घरेलु हिंशा २, जालसाँजी १३, जग्गा खिचोला सम्बन्धी १६, करार सम्झौता सम्बन्धी २, कैदबाट भागेको १ आदि मुख्य मुद्दा रहेको तथ्याङ्कबाट देखिएको छ ।

लमजुङ जिल्ला अदालतको तीन आर्थिक बर्षको मुद्दाको लगत फछ्यौट र बाँकीको स्थितिलाई तुलनात्मक रुपमा हेर्दा आ.ब. २०७७/०७८ मा लगत ६ सय ५४ मध्ये फछ्यौट ३ सय ७३ र बाँकी २ सय ८१ थियो । आ.ब. २०७८/०७९ मा लगत ८ सय ११ मध्ये फछ्यौट ५ सय ३० र बाँकी २ सय ८१ रहेको थियो । त्यस्तै आ.ब. २०७९/०८० मा लगत ८ सय ९९ मध्ये फछ्यौट ६ सय २६ र बाँकी २ सय ७३ रहेको छ । यसरी हरेक आर्थिक वर्षमा लमजुङ जिल्ला अदालतमा नयाँ दर्ता हुने मुद्दा संख्या बढदो अवस्थामा रहेको छ । अदालतमा मुद्दाको सख्या बढेको अनुपातमा जनशक्ति नबढेको र अदालतको भौतिक तर्फ नयाँ भवन निर्माण हुनु जरुरी भएको हुँदा सो तर्फ पहल भएको जिल्ला न्यायाधीश शिव प्रसाद खनालले बताउनु भयो ।

आर्थिक बर्ष २०७९/०८० मा गत आ.ब.बाट जिम्मेवारी सरी आएको मुद्दा २ सय ८१ र नयाँ मुद्दा दर्ता अनुमान ५ सय ५६ गरी जम्मा मुद्दाको अनुमानीत लगत ८ सय ३७ रहेको थियो। सो आधारमा अदालतले जम्मा ५ सय ५१ थान मुद्दा फर्छ्यौट गर्ने लक्ष्य राखेको थियो । तर अनुमान गरिए भन्दा ६२ थान मुद्दा बढी दर्ता भई आ.ब. २०७९/८० मा मात्रै जम्मा ६ सय १८ नयाँ मुद्दा दर्ता भएका छन् । उक्त आ.ब मा अदालतले जम्मा ६ सय २६ थान मुद्दा फर्छ्यौट गरी लक्ष्यभन्दा ७५ थान बढी मुद्दा फर्छ्यौट भएको अदालत प्रशासनले जनाएको छ ।

यसबाट लमजुङ जिल्ला अदालतमा आ.ब. २०७९/०८० मा मुद्दाको जम्मा लगत ८ सय ९९, जम्मा फछ्यौट ६ सय २६ र बाँकी २ सय ७३ मुद्दा रहेका छन् । अदालतले लक्ष्यको आधारमा ११३.६ प्रतिशत र वास्तविक लगतको आधारमा ७० प्रतिशत मुद्दा फछ्यौट गरेको छ । अदालतमा दुई बर्ष नाघेका मुद्दा शुन्य रहेको छ । एक बर्ष पुराना मुद्दा बीस थान मात्र बाँकी रहेको तथ्याङ्कबाट देखिएको छ । एक बर्ष नाघेका मुद्दा केवल बीस थान मात्र बाँकी रहेको हुँदा अदालतले न्यायपालिकाको पंचवर्षिय रणनीतिक योजना अनुरुप छिटो छरितो न्याय सम्पादन गरेको अदालतका स्रेस्तेदार भेषराज पौडेलले वताउनु भयो । आ.ब. २०७९/०८० मा २८ थान मुद्दा मेलमिलाप छलफल मार्फत समाधान भएको थियो ।

लमजुङ जिल्ला अदालतले आ.ब. २०७९/०८० मा ४ करोड ६२ लाख १३ हजार ५ सय ३८ रुपँैया जरिवाना असुल गरी अव असुल हुन बाँकी जरिवाना ४ करोड ९५ लाख ६७ हजार ३ सय २३ रुपँैया रहेको छ । त्यस्तै कैद तर्फ आ.ब. २०७९/०८० मा २ सय ९१ बर्ष २ महिना २९ दिन असुल गरी अव असुल हुन बाँकी कैद ३ सय १३ बर्ष ४ महिना ४ दिन रहेको तहसिलदार विश्वराज कुइकेलले जानकारी दिनुभयो ।