
लमजुङ सदरमुकाम बेसीशहर बजार क्षेत्रलाई व्यवस्थित बनाउनको लागि एकतर्फी पार्किङको व्यवस्था गरिए पनि त्यसको प्रभावकारी कार्यन्वयन हुन सकेको छैन ।
बेसीशहर नगरपालिकाले जथाभावी सवारी पार्किङले बजार अव्यवस्थित बनाएको भन्दै तोकिएको स्थानमा एक दिनमा एकापट्टिको साईडमा मात्रै पार्किङ गर्ने निर्णय गरेको थियो । बेसीशहर बजारका ठाउँ ठाउँमा नो पार्किङ लेखिएको बोर्ड राखिए बोर्डको आडैमा लगेर पार्किङ गर्ने गरेको भेटिएको छ ।
साँघुरो सडकमा सवारी चाप बढ्दा सडक जाम तथा ट्राफिक व्यवस्थापन असहज भएको भन्दै एकतर्फी पार्किङको अभ्यास शुरु गरिएको भएपनि सोचे अनुसारको कार्यन्वयन हुन नसकेको स्थानीय बताउँछन् । बजार क्षेत्रका घर तथा पसल अगाडि नै आएर मोटरसाइकल, अटो, गाडि जस्ता साधनहरु रोक्ने गरिएपनि सम्वन्धित निकायले खासै अनुगमन नगरेको स्थानीयको गुनासो छ ।
सडकमा ट्राफिक तथा प्रहरीहरु देख्दा नियम नमिच्ने र प्रहरी दायाँबायाँ लागेपछि नियम विपरित काम गर्ने गरेको प्रहरी नायव निरीक्षक मित्रलाल ढकाल बताउँछन् । एकापट्टी मात्रै पार्किङ गर्ने व्यवस्था भएको सुरु सुरुका दिनमा कार्यन्वयमा निकै कठिनाई भएपछि अहिले बजार क्षेत्रमा पार्किङको अवथ्थामा धेरै नै व्यवस्थीत ढकालको भनाई छ । साघुँरो सडकमा ग्रामिण क्षेत्रबाट आएका सवारी साधनले दुर्वै तर्फ रोकेर सामानहरु लोड अनलोड गर्ने हुँदा पैदलयात्री, मोटर साइकल लगायतलाई निकै समस्या भए पनि अहिले धेरै सुधार भएको ढकालको दावी छ ।
सडक चेकजाँचमा कडाइ गरेका कारण यो आर्थिक वर्षमा सडक दुर्घटनामा कमि आएको जिल्ला ट्राफिक कार्यलय लमजुङले जनाएको छ । वर्ष भरी जिल्लाका विभिन्न ठाउँमा भएका सडक दुर्घटनामा परी ४ जनाले ज्यान गुमाएका छन् । गत वर्ष १७ जनाले सडक दुर्घटनामा परी ज्यान गुमाएका थिए । सवारी चालक अनुमती पत्र र नियम विपरित साधन चलाउने लाई कारवाही र कडाइका साथ अनुगनका कारणले पनि सडक दुर्घटनामा कमी आएको बताइएको छ ।
यो वर्ष मात्रै सवारी चेकजाँचबाट जिल्ला ट्राफिक कार्यलय लमजुङले ७१ लाख ५९ हजार ५ सय राजश्व संकलन गरेका छ । गत वर्ष जम्मा ५६ लाख १६ हजार रुपैया राजश्व संकलन भएको थियो ।यो वर्ष १० हजार ५ सय ५० वटा नियम विपरित चलाईएका सवारी साधन कारबाहीमा परेका छन् । गत वर्ष ८ हजार ७ सय कारबाहीमा परेका थिए ।
ट्राफिक नियमका बारेमा विभिन्न जानकारी, अनुगमन तथा नियम मिच्नेलाई कारवाही गर्दा गर्दै पनि कतिपय मानिसले ट्राफिक नियम विपरित सवारी चलाउने र रोक्ने गरेको ट्राफिक कार्यलय लमजुङले जनाएको छ ।










