मुक्तकहरु

-


     कमला घिमिरे, काठमाडौं    
     श्रावण २० गते २०८० मा प्रकाशित


१,
पोको पारौं गुम्सिन्छ कि, फुकाउँ भने पोखिन्छ कि
उतारचढावमा जोखिम मोल्ने पाइलाहरु रोकिन्छ कि
ऐना पनि त असमर्थ छ जलेको मन देखाउन ,
डर लाग्छ, ठाउँ कुठाउँ नैतिकता जोखिन्छ कि ।

२,
सोचिरहन्छ माली, बगैंचामा फुलैफूल सजाउनु छ
यहीँ भित्र माहुरीका भुन्भुन संगीत बजाउनु छ
कृत्रिमतालाई पछारि दिन्छ प्राकृतिक निखारले,
भँवरा र पुतलीहरु एक आपसमा हेर्दै लजाउनु छ ।

३,
थोपा थोपा संगालेर घैला भर्ने कोशिस गरेँ
संघर्षका जंघारहरु एक्लै तर्ने कोसिस गरेँ
साथ दिनेले कतिन्जेल दिन्छ थाहै नहुने रहेछ,
अरुमाथि भार भएँ त्यसैले अन्तै सर्ने कोसिस गरेँ ।

४,
मेरो जीवन ओइलिए पनि तिम्रो फलोस्, फुलिरहोस्
इज्जत, मान, पद, प्रतिष्ठा हिमाल सरि चुलिरहोस्
त्यही प्रतिष्ठाको ब्याख्या गर्दै मुस्कुराइ रहन्छु म,
चन्द्र जस्तो मुहार त्यो, सधैं प्रशन्नताले खुलिरहोस् ।