भारी वर्षा र हिमपातको जोखिम, लमजुङ र मनाङमा सतर्कता अपनाउन आग्रह

-


     नयाँ दीप    
     कार्तिक ११ गते २०८३ मा प्रकाशित


मौसम पूर्वानुमान महाशाखाले कात्तिक १२ देखि १४ गतेसम्म भारी वर्षा, मेघगर्जन, चट्याङ र हिमपातको सम्भावना औँल्याएपछि लमजुङ र मनाङमा सतर्कता अपनाउन आग्रह गरिएको छ।

जिल्ला प्रशासन कार्यालय लमजुङले सूचना जारी गर्दै धानबाली भित्र्याउनेलगायत कृषि कार्य बिहीबारअघि नै सम्पन्न गर्न, उच्च पहाडी तथा हिमाली क्षेत्रमा यात्रा नगर्न र नदीकिनार, सडक छेउछाउ तथा पहिरोको जोखिमयुक्त क्षेत्रमा विशेष सावधानी अपनाउन अनुरोध गरेको छ। बङ्गालको खाडीमा विकसित चक्रवातको प्रभावले गण्डकीसहित विभिन्न प्रदेशमा वर्षा हुन सक्ने भन्दै प्रशासनले आवश्यक पूर्वतयारी गर्न सर्वसाधारणलाई आग्रह गरेको हो।

यस्तै, सम्भावित बाढीपहिरो र हिमपातको जोखिमलाई ध्यानमा राख्दै मनाङ प्रहरीले सदरमुकाम चामेसहित नदीकिनारका बस्ती तथा प्रमुख पदमार्ग क्षेत्रमा माइकिङ गरी स्थानीय बासिन्दा, यात्रु र पर्यटकलाई सतर्क गराएको छ। प्रहरीले मौसमको अवस्था बुझेर मात्र यात्रा गर्न र जोखिम देखिए सुरक्षित स्थानमा जान अनुरोध गरेको छ।

यसअघि असोजमा परेको भारी वर्षाले मनाङको ताल गाउँ र चामे क्षेत्रमा क्षति पुर्‍याउनुका साथै माथिल्लो मनाङ जोड्ने ट्रस पुलसमेत प्रभावित भएको थियो। पुनः वर्षा र हिमपातको सम्भावना देखिएकाले जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने तथा यात्रा गर्ने सबैलाई सतर्कता अपनाउन आग्रह गरिएको छ।