
काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष तथा प्रधानमन्त्री राहत कोषमा करिब पौने १२ अर्ब रुपैयाँ जम्मा भएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९ बजेसम्म दुवै कोषमा रु। ११ अर्ब ७७ करोड ६७ लाख ५० हजार २६१ जम्मा भएको हो।
हाल विभिन्न नौ वटा वाणिज्य बैंकमा कोषको रु। ८ अर्ब ५९ करोड १९ लाख ४ हजार २२३ मौज्दात रहेको कार्यालयले जनाएको छ।
कोषमा जम्मा भएको रकममध्ये रसुवाका बाढीपीडितको राहत तथा व्यवस्थापनका लागि यसअघि नै रु। १ अर्ब राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका नाममा निकासा भइसकेको छ।
त्यस्तै, हिमालयन बैंक लिमिटेड र लक्ष्मी सनराइज बैंक लिमिटेडमा रहेको डलर खातामा रु। २ करोड ११ लाख ८ हजार ४७१ जम्मा भएको पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।
रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि राहत तथा पुनःस्थापनाका लागि विभिन्न व्यक्ति, संस्था तथा निकायबाट सहयोग रकम संकलन भइरहेको छ।









