
लमजुङको मर्स्याङ्दी गाउँपालिकामा अन्तरविद्यालयस्तरीय खेलकुद प्रतियोगिता ‘आठौँ मर्स्याङ्दी कप–२०८३’ सुरु भएको छ। मर्स्याङ्दी गाउँपालिका–७, ङादीस्थित ङादी खेलमैदानमा बुधबारदेखि सुरु भएको प्रतियोगिताको उद्घाटन गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले गरेका हुन्।
उद्घाटन कार्यक्रममा अध्यक्ष गुरुङले खेलकुदले विद्यार्थीको शारीरिक तथा मानसिक विकाससँगै अनुशासन, आत्मविश्वास र आपसी सद्भाव बढाउन महत्त्वपूर्ण भूमिका खेल्ने बताए। विद्यालय तहदेखि नै खेलकुद गतिविधिलाई प्रोत्साहन गर्न सके विद्यार्थीमा लुकेको प्रतिभा पहिचान हुनुका साथै भविष्यमा सक्षम खेलाडी उत्पादन गर्न सहयोग पुग्ने उनको भनाइ थियो। खेलकुदको विकासमार्फत गाउँपालिकाको पहिचान स्थापित गर्न पनि यस्ता प्रतियोगिताले योगदान पुर्याउने उनले विश्वास व्यक्त गरे।

युवा तथा खेलकुद विकास समिति मर्स्याङ्दीका अध्यक्ष खेम घलेको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रमको सञ्चालन समितिका सचिव पूर्णबहादुर गुरुङले गरेका थिए।
आयोजकका अनुसार प्रतियोगिताको पहिलो दिन करिब ९ सय विद्यार्थी सहभागी भएका छन्। प्रतियोगितामा विभिन्न ३६ विधामा अन्तरविद्यालयस्तरीय प्रतिस्पर्धा सञ्चालन हुनेछन्। उद्घाटनकै दिन प्राथमिक तहका छात्रछात्राबीच म्याथ रनिङ, लामो कुदाइ ९लङ जम्प० लगायतका खेल सम्पन्न भएका छन् भने फुटबल प्रतियोगितासमेत सुरु भएको छ।
विद्यालय तहदेखि खेलकुदको विकास गर्ने, विद्यार्थीमा अन्तर्निहित प्रतिभा पहिचान गर्ने तथा खेलकौशल अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो। प्रतियोगिताले विद्यार्थीमा अनुशासन, आपसी सद्भाव र स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्न सहयोग पुग्ने आयोजकको विश्वास छ।









