भोटेकोशी बाढीः लमजुङका तीनसहित ४७ जना अझै सम्पर्कविहीन

-


     नयाँ दीप    
     भाद्र २० गते २०८३ मा प्रकाशित


रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि माथिल्लो त्रिशूली–३ ए जलविद्युत् आयोजनामा कार्यरत लमजुङका तीन जना कर्मचारी अझै सम्पर्कविहीन छन्।

नेपाल विद्युत् प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार लमजुङका तीनसहित आयोजनामा कार्यरत ४७ जना सम्पर्कविहीन रहेका छन्। सम्पर्कविहीन हुनेमा लमजुङ खुँदी–१ की ३४ वर्षीया रमिला भण्डारी, चितीका झपटबहादुर घर्ती र राधिका भुजेल रहेका छन्।

भदौ १० गते राति भोटेकोशी नदीमा आएको बाढीले आयोजनाका विभिन्न संरचनामा क्षति पुर्‍याएपछि त्यहाँ कार्यरत कर्मचारी तथा कामदारहरूसँग सम्पर्क टुटेको प्राधिकरणले जनाएको छ।

सम्पर्कविहीनको खोजी तथा उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी, नेपाल विद्युत् प्राधिकरणलगायत सम्बन्धित निकाय परिचालन भएका छन्। घटनापछि निरन्तर खोजी कार्य भइरहेको प्राधिकरणको भनाइ छ।

प्राधिकरणले सम्पर्कविहीन व्यक्तिका परिवार तथा आफन्तलाई नजिकको प्रहरी कार्यालय वा जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ। सम्भावित पहिचानका लागि डीएनए परीक्षण गर्न नजिकका रक्त नातेदारको ताजा रगतको नमुना (Fresh Blood Sample) आवश्यक पर्ने भएकाले आफन्तबाट नमुना उपलब्ध गराउनसमेत अनुरोध गरिएको छ।