
लमजुङको क्व्होलासोथार गाउँपालिकाले आर्थिक वर्ष २०८३ र ८४ मा सञ्चालन हुने पूर्वाधार विकासका योजनाहरू निर्धारित समयमै सम्पन्न गर्ने लक्ष्यसहित कार्यतालिका तयार गरेको छ।
गाउँपालिकाले ठूला आयोजनाको बोलपत्र आह्वानदेखि उपभोक्ता समिति गठन, योजना सम्झौता, निर्माण सम्पन्न र भुक्तानीसम्मका कामका लागि निश्चित समयसीमा तोकेको हो।
गत शुक्रबार बसेको गाउँ कार्यपालिकाको बैठकले पारित गरेको कार्ययोजना सोमबार सार्वजनिक गरिएको हो। गाउँपालिका अध्यक्ष सूर्यप्रसाद गुरुङका अनुसार भदौ मसान्तभित्र ठूला आयोजनाको बोलपत्र आह्वान र उपभोक्ता समिति गठन गर्ने लक्ष्य राखिएको छ।
त्यसैगरी असोज मसान्तसम्म सबै योजनाको लागत अनुमान तथा डिजाइन तयार गर्ने र कार्तिक मसान्तभित्र योजना सम्झौता सम्पन्न गर्ने कार्यतालिका बनाइएको गाउँपालिकाले जनाएको छ।
गाउँपालिकाका अनुसार निर्माणसँग सम्बन्धित सम्पूर्ण काम चैत मसान्तभित्र सम्पन्न गर्ने तथा जेठ मसान्तसम्म योजनाको भुक्तानी गरिसक्ने लक्ष्य राखिएको छ।
अध्यक्ष गुरुङले आर्थिक वर्षको अन्तिम समयमा मात्र विकास निर्माणका काम गर्ने प्रवृत्तिलाई अन्त्य गर्दै योजना समयमै सुरु र सम्पन्न गराउने उद्देश्यले कार्यतालिका बनाइएको बताए।
उनका अनुसार समयमै काम सुरु गर्ने, निर्माणको गुणस्तर कायम गर्ने र भुक्तानी प्रक्रियामा समेत अनावश्यक ढिलाइ हुन नदिने गरी जिम्मेवारी र समयसीमा निर्धारण गरिएको छ।
गाउँपालिकाले कार्यतालिका प्रभावकारी रूपमा कार्यान्वयन गर्न सम्बन्धित शाखा, प्राविधिक कर्मचारी, उपभोक्ता समिति तथा निर्माण व्यवसायीलाई तोकिएको समयसीमाभित्रै काम सम्पन्न गर्न सक्रिय हुन आग्रह गरेको छ।










