
जन्मदिनलाई केवल व्यक्तिगत उत्सवका रूपमा नभई प्रकृति संरक्षण, सत्कर्म र सामाजिक उत्तरदायित्वसँग जोड्ने उद्देश्यले सुरु गरिएको ‘जन्मदिनमा वृक्षरोपण अभियान’ देश तथा विदेशमा विस्तार हुँदै गएको छ। जन्मदिनको अवसरमा केक काटेर मैनबत्ती निभाउने प्रचलनको विकल्पमा कम्तीमा एउटा बिरुवा रोपेर हुर्काउने संस्कारको विकास गर्ने उद्देश्यले सुरु गरिएको अभियानले अहिले वातावरण संरक्षणसँगै असल संस्कार र हरित संस्कृतिको सन्देश प्रवाह गरिरहेको छ।
२०७५ साल मंसिर २९ गते अर्थात् १५ डिसेम्बर २०१८ मा ‘जन्मदिनमा वृक्षरोपण अभियान नेपाल’को औपचारिक शुभारम्भ गरिएको थियो। अभियानको मूल परिकल्पना मानिसको पृथ्वीमा आगमन अर्थात् जन्मदिनलाई प्रकृति, सत्कर्म र पुण्यकर्मसँग जोड्दै प्रत्येक व्यक्तिले आफ्नो जन्मदिनमा कम्तीमा एउटा वृक्ष रोप्ने संस्कार स्थापित गर्नु रहेको अभियानका परिकल्पनाकार बासुदेव सेढाईं बताउनुहुन्छ।
लमजुङबाट सुरु भएको यो अभियान अहिले देशका ६५ जिल्लासम्म विस्तार भइसकेको छ। अभियानको सन्देश देशभित्र मात्र सीमित नरही विदेशमा रहेका नेपालीहरूसम्म समेत पुगेको छ। विभिन्न देशमा रहेका नेपालीहरूले समेत जन्मदिनको अवसरमा वृक्षरोपण गर्ने अभियान सुरु गरिसकेको र विदेशमा पनि यसलाई प्राथमिकताका साथ अघि बढाउन थालिएको अभियानकर्ताहरू बताउँछन्।
प्रकृति तथा वातावरण संरक्षण, प्राणी जगतको रक्षा, प्रदूषण न्यूनीकरण, जैविक विविधताको संरक्षण, असल संस्कार र सभ्य संस्कृतिको विकास अभियानका प्रमुख उद्देश्य हुन्। जन्मदिनमा रोपिएको एउटा बिरुवाले भविष्यमा फलफूल, जडीबुटी, काठ, दाउरा, घाँसपात, अक्सिजन तथा शीतल छहारी दिनुका साथै भूक्षय नियन्त्रण, जैविक विविधताको संरक्षण र विभिन्न जीवजन्तुका लागि बासस्थान तथा आहारको स्रोत बन्ने भएकाले वृक्षरोपणलाई महत्वपूर्ण पुण्यकर्मका रूपमा अभियानले लिएको छ।
जन्मदिनमा केक काटेर मैनबत्ती निभाउने पश्चिमा संस्कृतिको प्रभाव बढ्दै गएको भन्दै अभियानले त्यसको विकल्पमा ‘बत्ती निभाउने होइन, जगाउने’ संस्कार विकास गर्नुपर्नेमा जोड दिएको छ। नेपाली समाजमा कुनै पनि शुभकार्य गर्दा बत्ती बालेर शुभारम्भ गर्ने परम्परा रहेकाले जन्मदिनमा पनि मैनबत्ती निभाउनुको सट्टा बत्ती बाल्दै एउटा बिरुवा रोप्ने र त्यसलाई हुर्काउने संस्कारको विकास गर्नुपर्ने अभियानकर्ता देविदास बरालले बताउनुभयो ।
अभियानले जन्मदिन मनाउने व्यक्तिलाई वृक्षरोपणका लागि आवश्यक बिरुवासमेत उपलब्ध गराउँदै आएको छ। बिरुवा सहज रूपमा उपलब्ध गराउन आफ्नै नर्सरी स्थापना गरिएको छ। नर्सरीमा विभिन्न प्रजातिका फलफूल, वनस्पति तथा जडीबुटीका बिरुवा उत्पादन गरी अभियानमा सहभागी हुनेलाई उपलब्ध गराउने गरिएको छ। पछिल्लो समय जिल्ला वन कार्यलयले समेत विरुवाहरु उपलब्ध गराउदै आएकोे छ ।
अभियानमा बालबालिकादेखि ज्येष्ठ नागरिकसम्मको उत्साहजनक सहभागिता रहेको बताइएको छ। जन्मदिनमा रोपिएको बिरुवासँग व्यक्तिको भावनात्मक सम्बन्धसमेत स्थापित हुने भएकाले त्यसको संरक्षण र हुर्काइमा थप जिम्मेवारी महसुस हुने अभियानकर्ता राजु थापा बताउननुहुन्छ ।
बढ्दो वातावरण प्रदूषण, वन विनाश, प्रकृति दोहन तथा जलवायु परिवर्तनका कारण पृथ्वीको वातावरण जोखिममा पर्दै गएको अवस्थामा वृक्षरोपण अभियानले प्रकृति संरक्षणसँगै मानव जीवनशैलीमा समेत सकारात्मक परिवर्तन ल्याउन सक्ने अभियानकर्ताहरू बताउँछन्। विज्ञान र प्रविधिको विकासले भौतिक सुविधा बढाए पनि प्रकृति विनाश हुँदै गए मानिस स्वयं असुरक्षित बन्ने भएकाले विकाससँगै वातावरण संरक्षणलाई प्राथमिकता दिनुपर्ने उनीहरूको धारणा छ।
अभियानले स्वच्छ वातावरण, निरोगी जीवन, सकारात्मक सोच, विषादीरहित अर्गानिक आहार, नैतिकता, मानवता र सभ्य संस्कारलाई समेत जोड दिएको छ। प्रकृति मानिसअनुसार होइन, मानिस प्रकृतिअनुसार चल्नुपर्ने मान्यतालाई आत्मसात् गर्दै मानव र प्रकृतिबीचको सम्बन्ध अझ सुदृढ बनाउने अभियानको लक्ष्य छ।
जन्मदिनमा एउटा बिरुवा रोप्ने संस्कारले एउटा व्यक्तिको जन्मदिनलाई मात्र अर्थपूर्ण बनाउँदैन, त्यो बिरुवा हुर्किंदै जाँदा परिवार, समाज र भावी पुस्ताका लागि समेत उपयोगी बन्न सक्छ। त्यसैले जन्मदिनलाई केवल उत्सव र मनोरञ्जनमा सीमित नगरी पृथ्वी, प्रकृति र भावी पुस्ताप्रतिको दायित्वसँग जोड्न अभियानले सबैलाई आग्रह गर्दै आएको छ।
प्रकृति संरक्षण, हरित संस्कृति, असल संस्कार र मानवताको सन्देश बोकेको यो अभियानले जन्मदिनलाई फरक ढंगले मनाउने संस्कार विकास गर्दै पृथ्वीलाई हराभरा र जीवनमैत्री बनाउने प्रयास गरिरहेको छ।










