राष्ट्रिय युवा संघ लमजुङद्वारा रक्तदान कार्यक्रम आयोजना

-


     नयाँ दीप    
     श्रावण ३० गते २०८३ मा प्रकाशित


राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी लमजुङको आयोजनामा शनिबार बेसीशहरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। बेसीशहरस्थित नेकपा एमाले जिल्ला कार्यालय ‘मदन आश्रित भवन’मा कार्यक्रम आयोजना गरिएको हो।

रगतको आवश्यकता परेका बिरामीहरूलाई सहज रूपमा रगत उपलब्ध गराउन सहयोग पुर्‍याउने उद्देश्यले रक्तदान कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ। आकस्मिक अवस्था तथा उपचारका क्रममा रगत आवश्यक पर्ने बिरामीलाई समयमै रगत उपलब्ध गराउन रक्तदान महत्वपूर्ण हुने भएकाले सामाजिक उत्तरदायित्वका रूपमा कार्यक्रम आयोजना गरिएको बताइएको छ।

कार्यक्रममा राष्ट्रिय युवा संघ लमजुङका २२ जना युवाले रक्तदान गरेका थिए। कार्यक्रममा प्रदेश अस्पताल लमजुङबाट समेत आवश्यक सहयोग प्राप्त भएको जनाइएको छ।

रक्तदानले बिरामीको जीवन बचाउन महत्वपूर्ण भूमिका खेल्ने भएकाले स्वस्थ व्यक्तिले नियमित रूपमा रक्तदान गर्नुपर्ने सन्देशसमेत कार्यक्रममार्फत दिइएको छ। रक्तदानबाट संकलित रगत विभिन्न रोग तथा दुर्घटनाका कारण रगत आवश्यक पर्ने बिरामीको उपचारमा प्रयोग हुने भएकाले रक्तदानलाई मानवीय सेवाको महत्वपूर्ण कार्यका रूपमा लिइन्छ।

राष्ट्रिय युवा संघ लमजुङले आगामी दिनमा पनि सामाजिक सेवाका विभिन्न कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।