विश्व नवनिर्माण र शान्तिका लागि ऐतिहासिक दिन

-


     नयाँ दीप    
     श्रावण ७ गते २०८३ मा प्रकाशित


ऐतिहासिक दिन २०७५ मंसिर २९ (१५ डिसेम्बर २०१८) मा “जन्मदिनमा वृक्षरोपण अभियान नेपाल” को शुभारम्भ भयो। यस अभियानको मूल उद्देश्य मानिसको पृथ्वीमा अवतरण भएको दिन अर्थात् शुभ जन्मदिनलाई प्रकृतिसँग, सत्कर्मसँग र पुण्यकर्मसँग जोड्दै प्रत्येक व्यक्तिले आफ्नो जन्मदिनमा कम्तीमा एउटा बिरुवा रोप्ने संस्कार स्थापित गर्नु हो।

अभियानले प्रकृतिको दोहनलाई निरुत्साहित गर्दै हराभरा वातावरण, स्वच्छ जल, स्वच्छ जमिन र स्वच्छ वायुमण्डल निर्माण गर्ने लक्ष्य लिएको छ। बढ्दो प्रदूषण न्यूनीकरण, पृथ्वीको तापक्रम घटाउने प्रयास, प्राणीमैत्री वातावरण निर्माण तथा पवित्र विचार, असल कर्म र सभ्य संस्कारयुक्त समाजको निर्माण यस अभियानको परिकल्पना हो। यसले अन्ततः स्वर्णिम संसार र स्वर्णिम युग निर्माणको मार्ग प्रशस्त गर्ने विश्वास राखेको छ।

शुद्ध, विषादीरहित अर्गानिक आहार, निरोगी शरीर र सकारात्मक सोचलाई जीवनशैलीको आधार बनाउँदै आर्थिक विकासका लागि पनि अभियानको ऊर्जालाई उपयोग गर्न सकिने विश्वास गरिएको छ। जन्मदिनमा रोपिएको एउटा बिरुवाले भविष्यमा फलफूल, जडीबुटी, काठ, दाउरा, घाँसपात, अक्सिजन र शीतल छहारी प्रदान गर्छ। यसले भूक्षय रोक्छ, धेरै प्राणीका लागि बासस्थान र आहारको व्यवस्था गर्छ। जन्मदिनमा यसभन्दा ठूलो पुण्यकर्म अरू के हुन सक्छ?

साना नानीबाबुदेखि ज्येष्ठ नागरिकसम्मको उत्साहजनक सहभागिताले अभियानलाई व्यापक बनाएको छ। शुभारम्भ भएको झण्डै एक दशक पुग्न लाग्दा हजारौं अभियन्ता, शुभेच्छुक र शुभचिन्तक यस अभियानसँग जोडिएका छन्। अभियानको विस्तार देशका ६५ जिल्लामा भइसकेको छ भने विदेशमा समेत यसको सन्देश फैलिन थालेको छ।

आज विश्व तमोप्रधानता, नैतिक पतन र भ्रष्ट प्रवृत्तितर्फ अग्रसर भइरहेको देखिन्छ। सृष्टिको नियम नै हो—अति भएपछि अन्त्य हुन्छ, र नयाँ सुरुवातका लागि पुरानो समाप्त हुनुपर्छ। वर्तमान विश्व त्यही संक्रमणकालबाट गुज्रिरहेको अभियानको धारणा छ। प्रकृतिले पनि विभिन्न विपद् र जलवायु परिवर्तनमार्फत चेतावनी दिइरहेको छ भने मानिसका गतिविधिले पनि त्यसको पुष्टि गरिरहेका छन्।

मानिसमा नैतिकता, इमानदारी, दया, माया, करुणा, मानवता र सहनशीलता क्रमशः कमजोर बन्दै गएका छन्। घर–घरमा असमझदारी, देश–देशबीच द्वन्द्व, अत्याधुनिक हतियार, क्षेप्यास्त्र र परमाणु बमको होडले पृथ्वीको भविष्यलाई थप जोखिमपूर्ण बनाइरहेको छ। एकातिर विनाशको तयारी भइरहेको छ भने अर्कोतर्फ विश्व नवनिर्माणको आधार पनि तयार हुँदैछ।

प्रकृति मानिसको इच्छाअनुसार चल्दैन; मानिसले प्रकृतिको नियमअनुसार चल्नुपर्छ। त्यसैले सर्वगुण सम्पन्न मानव, प्राणीअनुकूल प्रकृति, स्वच्छ वातावरण, स्वच्छ पर्यावरण तथा सभ्य र सुसंस्कृत मानव समाज निर्माण गर्नु नै अभियानको मुख्य एजेन्डा हो।

विज्ञान र प्रविधिले मानिसलाई सुविधा र भौतिक समृद्धि दिएको भए पनि अन्तरआत्मामा शान्ति र सन्तुष्टि दिन सकेको छैन। अनुभव गर्ने हो भने आजको संसारमा सुविधा बढे पनि शान्ति र खुशीको अभाव देखिन्छ। प्रकृति र वातावरणको विनाशसँगै भौतिक विकासले ठूलो फड्को मारेको छ। मानिसले बनाएका साधनले प्रकृति र सृष्टिका नियमलाई चुनौती दिए पनि मानिस स्वयं सुरक्षित, शान्त र सन्तुष्ट हुन सकेको छैन।

महाविनाशबाट सुरक्षित रहन आध्यात्मिक चिन्तन, प्रकृतिप्रतिको सम्मान, वातावरण संरक्षण, सबै प्राणीको कल्याण र असल गुणहरूको विकास आवश्यक रहेको अभियानको विश्वास छ। पुरानो र नयाँ, खराब र असल, सत्य र असत्य, शान्ति र हिंसाबीचको संघर्ष सुरु भइसकेको छ। यस ध्रुवीकरणमा असल सुरक्षित हुने र खराब समाप्त हुँदै जाने विश्वासका साथ अभियानले यसलाई नयाँ स्वर्णिम युगको सुरुवात का रूपमा व्याख्या गरेको छ।

जन्मदिनमा वृक्षरोपण गर्ने अभियान सुरु भएपछि विभिन्न संघसंस्था र व्यक्तिहरूले पनि आफ्नो जन्मदिन वृक्षरोपण गरेर मनाउने परम्परा विस्तार हुँदै गएको छ। विगतमा पनि वृक्षरोपण हुने गरेकैं भए पनि स्पष्ट सन्देशसहितको यस अभियानले वातावरण संरक्षणप्रति समाजमा नयाँ चेतना र सकारात्मक तरंग सिर्जना गरेको वातावरण संरक्षणसँग सम्बन्धित व्यक्तित्वहरूको भनाइ छ।

जन्मदिनमा रोपिएको बिरुवासँग मानिसको भावनात्मक सम्बन्ध स्थापित हुन्छ। त्यही माया र अपनत्वले बिरुवाको संरक्षण, हुर्काइ र उत्पादनमा सकारात्मक प्रभाव पार्छ। यही पवित्र र महत्त्वपूर्ण सन्देशलाई विश्वभर फैलाउँदै मानव, प्रकृति र वातावरणबीचको सन्तुलित सम्बन्ध स्थापित गर्नु “जन्मदिनमा वृक्षरोपण अभियान नेपाल” को दीर्घकालीन लक्ष्य हो।

बासुदेव सेढाँई
लेखक जन्मदिनमा बृक्षरोपण अभियानका परिकल्पनकार हुनुहुन्छ ।