
राष्ट्रिय विद्युत् प्रसारण लाइनको पहुँच नपुगेको लमजुङको क्व्होलासोथार गाउँपालिका–२ मालिङस्थित तिबिस्वाँरा क्षेत्रका दुर्गम घर तथा गोठमा सोलार बत्ती जडान गरिएको छ। गाउँपालिकाले सञ्चालन गरेको ‘उज्यालो कार्यक्रम’ अन्तर्गत विद्युतीकरण हुन बाँकी रहेका घरधुरी र गोठलाई लक्षित गरी आइतबार सोलार सेट वितरण तथा जडान कार्य सम्पन्न गरेको जनाएको छ।
गाउँपालिकाको निर्णयअनुसार प्रत्येक घर तथा गोठका लागि एक–एक सेट सोलार प्यानल, ब्याट्री, कन्ट्रोलर, बत्ती र आवश्यक वायरिङ सामग्री उपलब्ध गराइएको हो। गाउँपालिका अध्यक्ष सूर्यप्रसाद गुरुङको नेतृत्वमा जनप्रतिनिधि तथा कर्मचारीहरूको टोली लाभग्राहीकै घरमा पुगेर सामग्री वितरण र जडान कार्यमा सहभागी भएका थिए ।
यस अभियानअन्तर्गत स्थानीय बुद्धिमान परियार, दलबहादुर गुरुङ र सिंहबहादुर परियारका घर तथा गोठमा सोलार प्रणाली जडान गरिएको छ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष गमीमाया गुरुङ, प्रमुख प्रशासकीय अधिकृत माधवप्रसाद वाग्ले, वडा नं. २ का अध्यक्ष खुसीमान गुरुङ, सूचना प्रविधि अधिकृत अनिल पौडेल, लेखा प्रमुख बसन्त पौडेल तथा स्थानीय बासिन्दाको उपस्थिति रहेको थियो।
सोलार प्रणाली सञ्चालनमा आएपछि दुर्गम क्षेत्रमा बसोबास गर्ने नागरिकको दैनिक जीवन सहज बन्ने, रात्रिकालीन उज्यालोको व्यवस्था हुने तथा पशुपालनसँग सम्बन्धित काममा समेत सकारात्मक सहयोग पुग्ने गाउँपालिकाका अध्यक्ष सुर्यप्रसाद गुरुङले बताउनुभयो ।
तिबिस्वाँरा क्षेत्रका केही घर तथा गोठ अझै राष्ट्रिय विद्युत् प्रसारण लाइनको पहुँचभन्दा बाहिर रहेकाले वैकल्पिक ऊर्जामार्फत उज्यालो पु¥याउने अभियानलाई गाउँपालिकाले आगामी दिनमा पनि निरन्तरता दिने जनाएको छ।












