
लमजुङको बेँसीशहर नगरपालिका–८ स्थित ल्याण्ड स्टार इङ्लिस स्कुलले बालबालिकाको समग्र विकासमा अभिभावकको भूमिकालाई थप प्रभावकारी बनाउने उद्देश्यसहित ‘आर्ट अफ पेरेन्टिङ’ विषयक विशेष प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ।
सोमबार आयोजित कार्यक्रममा वरिष्ठ उत्प्रेरक डा. तारा जीले बाल मनोविज्ञान, सकारात्मक अभिभावकत्व, अनुशासनको सन्तुलित अभ्यास, बालबालिकासँग विश्वासिलो सम्बन्ध निर्माण तथा उनीहरूको भावनात्मक विकासका विविध पक्षबारे सहजीकरण गरेका थिए। उनले बदलिँदो सामाजिक परिवेश र प्रविधिमैत्री जीवनशैलीका कारण अभिभावकले आफ्ना सन्तानसँग गुणस्तरीय समय बिताउनु र उनीहरूको भावना तथा आवश्यकतालाई संवेदनशील रूपमा बुझ्नु आवश्यक रहेको बताए।
उनका अनुसार माया, विश्वास र खुला संवादमा आधारित पारिवारिक वातावरणले बालबालिकाको व्यक्तित्व विकासमा दीर्घकालीन सकारात्मक प्रभाव पार्छ। उनले अभिभावकलाई बालबालिकालाई निर्देशन मात्र नभई उचित मार्गदर्शन र साथ दिन पनि आग्रह गरे।
प्रशिक्षणमा सहभागी अभिभावकहरूले कार्यक्रमले बालबालिकाको व्यवहार, सोच र भावनात्मक पक्षलाई अझ नजिकबाट बुझ्न सहयोग पुगेको अनुभव सुनाए। यस्ता कार्यक्रमले घर र विद्यालयबीचको सहकार्यलाई मजबुत बनाउँदै बालबालिकाको सिकाइ र व्यक्तित्व विकासमा सकारात्मक योगदान पुग्ने उनीहरूको विश्वास थियो।
विद्यालयका प्रिन्सिपल ईश्वर पौडेलले शैक्षिक उपलब्धिसँगै विद्यार्थीको मानसिक, सामाजिक र भावनात्मक विकासलाई पनि विद्यालयले समान प्राथमिकता दिएको बताए। सोही उद्देश्यअनुसार अभिभावकको भूमिका सशक्त बनाउन र विद्यालय–अभिभावकबीच सहकार्य विस्तार गर्न प्रशिक्षण आयोजना गरिएको उनको भनाइ थियो।
विद्यालयले विगतदेखि नै विभिन्न सचेतनामूलक तथा क्षमता अभिवृद्धिमूलक कार्यक्रम सञ्चालन गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा पनि जिम्मेवार अभिभावकत्वको प्रवर्द्धन, बालमैत्री वातावरण निर्माण तथा विद्यालय–अभिभावक सम्बन्धलाई थप सुदृढ बनाउने यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक तथा अन्य सरोकारवालाको उल्लेखनीय सहभागिता रहेको थियो।











