
लमजुङको बेँसीशहर नगरपालिका–७, सातबिसेस्थित भूपू सैनिक आवासीय माध्यमिक विद्यालयले अभिभावक र विद्यालयबीचको सहकार्यलाई सुदृढ बनाउने उद्देश्यले ‘आर्ट अफ पेरेन्टिङ’ विषयक विशेष कार्यशाला आयोजना गरेको छ। कार्यक्रममा सहभागी अभिभावकहरूले बालबालिकाको समग्र विकाससँग सम्बन्धित विभिन्न विषयमा जानकारी हासिल गरेका छन्।
सोमबार सम्पन्न कार्यशालामा नेतृत्व प्रशिक्षक तथा उत्प्रेरणादायी वक्ता डा. तारा जीले आधुनिक अभिभावकत्वका बदलिँदा चुनौती, बालबालिकासँग विश्वासपूर्ण सम्बन्ध निर्माण, प्रभावकारी संवाद, सकारात्मक अनुशासन तथा भावनात्मक विकासका उपायबारे प्रशिक्षण दिएका थिए। उनले घरको वातावरण र अभिभावकको व्यवहारले बालबालिकाको व्यक्तित्व निर्माणमा दीर्घकालीन प्रभाव पार्ने भएकाले सचेत अभिभावकत्वको आवश्यकता रहेको बताए।
कार्यक्रममा सहभागी अभिभावकहरूले पनि आफ्ना अनुभव र जिज्ञासा राख्दै अन्तरक्रियात्मक छलफल गरेका थिए। उनीहरूले यस्ता कार्यक्रमले बालबालिकालाई बुझ्न र उनीहरूसँग स्वस्थ सम्बन्ध विकास गर्न महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।
विद्यालयका प्रिन्सिपल बिनोद गुरुङले अभिभावकको सक्रिय सहभागिताले कार्यक्रमलाई थप अर्थपूर्ण बनाएको उल्लेख गर्दै विद्यालय र परिवारबीचको सहकार्य नै विद्यार्थीको सफलताको आधार भएको बताए। उनले शैक्षिक उपलब्धिसँगै नैतिक मूल्य, अनुशासन र असल संस्कार विकासमा अभिभावकको भूमिका अपरिहार्य रहेको धारणा राखे।
विद्यालयका अनुसार ‘आर्ट अफ पेरेन्टिङ’ जस्ता कार्यक्रमले अभिभावक र विद्यालयबीच विश्वास र साझेदारीको सम्बन्ध बलियो बनाउनुका साथै विद्यार्थीको चौतर्फी विकासका लागि अनुकूल वातावरण सिर्जना गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ। आगामी दिनमा पनि यस्ता सचेतनामूलक तथा अभिमुखीकरण कार्यक्रमलाई निरन्तरता दिइने विद्यालयले जनाएको छ।











