
लमजुङमा पहिलो पटक आयोजना गरिएको ‘ओपन लमजुङ ई–फुटबल प्रतियोगिता’ सफलतापूर्वक सम्पन्न भएको छ। डिजिटल खेलकुद (ई–स्पोट्र्स) प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा जिल्लाका विभिन्न स्थानबाट ३६ जना सक्रिय खेलाडी सहभागी भएका थिए।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै आयुष गुरुङ प्रथम स्थान हासिल गर्न सफल भए। उनले नगद रु. १२ हजार, ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरे। त्यसैगरी सिजन सिलवाल द्वितीय हुँदै नगद रु. ६ हजार, मेडल र प्रमाणपत्र प्राप्त गर्न सफल भए भने मञ्जिल तामाङ तृतीय स्थान हासिल गर्दै नगद रु. ३ हजार, मेडल तथा प्रमाणपत्रबाट पुरस्कृत भए।
बेँसीशहर युथ सोसाइटी सेराको आयोजनामा भएको प्रतियोगिता बेसीशहर नगरपालिका–८ स्थित दैलो लाउन्ज एन्ड रेष्ट्रोमा भएको थियो । यो प्रतियोगिताबाट लमजुङमा ई–फुटबलमार्फत ई–स्पोट्र्सको प्रवद्र्धन गर्ने ऐतिहासिक पहलका रूपमा हेरिएको छ। आयोजक क्लबका अध्यक्ष रविन श्रेष्ठका अनुसार यस कार्यक्रमले युवापुस्तालाई डिजिटल गेमिङतर्फ सिर्जनात्मक र सकारात्मक ढंगले आकर्षित गर्नुका साथै सामाजिक सञ्जाल र ई–गेमिङको सदुपयोग गर्न सकिने सन्देश दिएको छ।
प्रतियोगिताको मुख्य प्रायोजक मध्यनेपाल नगरपालिका, लमजुङ रहेको थियो। कार्यक्रम सफल बनाउन सहयोग पु¥याउने सम्पूर्ण खेलाडी, क्लब सदस्य, आयोजक टोली तथा समर्थकप्रति आयोजकले आभार व्यक्त गरेको छ। विशेष रूपमा मध्यनेपाल नगरपालिकाका प्रमुख रमेश पाण्डेप्रति क्लवले समेत सहयोग र समर्थनका लागि धन्यवाद ज्ञापन गरिएको छ।
आयोजकका अनुसार प्रतियोगिताको सफल आयोजनासँगै लमजुङमा डिजिटल खेलकुदको विकास र ई–स्पोट्र्स संस्कृतिको विस्तारतर्फ नयाँ अध्याय सुरु भएको विश्वास गरिएको छ।











