
लमजुङ जिल्लाको राइनास नगरपालिका–९ स्थित राइनासकोट यतिबेला लालिगुँरासले राताम्य बनेको छ। वसन्त ऋतु सुरु भएसँगै डाँडाकाँडामा ढकमक्क फुलेका गुराँस हेर्न जिल्ला भित्र तथा बाहिरबाट दैनिक हजारौं पर्यटकहरू आउने गरेका छन्।
यहाँको मनमोहक दृश्य, हिमालको दृश्यावलोकन र गुरुङ संस्कृतिको अनुभव लिन आउने पर्यटकको संख्या पछिल्ला दिनमा उल्लेख्य रूपमा बढेको स्थानीयवासी बताउँछन्। सामाजिक सञ्जालमा तस्बिर तथा भिडियो भाइरल भएपछि अझ बढी पर्यटक आकर्षित भएका हुन्।
राइनासकोटमा भूकम्पपछिको पुनर्निर्माणसँगै सामुदायिक होमस्टे सञ्चालनमा आएको हो। यहाँको होमस्टे औपचारिक रूपमा सन् २०१७ डिसेम्बर ८ (२०७४ मंसिर अन्त्यतिर) बाट सुरु गरिएको हो । सुरुमा करिब १४ वटा घरमा होमस्टे सञ्चालन गरिएको थियो, जसले एकैपटक करिब ८०–९० जना पर्यटक बस्न सक्ने क्षमता राख्थ्यो ।
हाल भने विस्तार हुँदै झण्डै १७ वटा घरमा होमस्टे सञ्चालनमा रहेका छन्, जहाँ एक रातमा करिब १०० जनासम्म बस्न सक्ने व्यवस्था रहेको छ । स्थानीय गुरुङ समुदायले सामूहिक रूपमा सञ्चालन गरेको यो होमस्टे अहिले राइनासकोटको प्रमुख आकर्षण बनेको छ।
पर्यटकको अत्यधिक आगमनसँगै अहिले सबै होमस्टेहरू पूर्ण रूपमा भरिएका छन्। धेरै पर्यटकहरूलाई बस्नका लागि ठाउँ नपाएर फर्किनुपर्ने अवस्था समेत आएको छ। विशेषगरी शुक्रबार र शनिबार पर्यटकको चाप अत्यधिक हुने गरेको छ।
स्थानीय व्यवसायीहरूका अनुसार पर्यटकको बढ्दो चापलाई व्यवस्थापन गर्न थप होमस्टे विस्तार, पूर्वाधार सुधार र व्यवस्थापन आवश्यक देखिएको छ। साथै फोहोर व्यवस्थापन, खानेपानी, शौचालय तथा सुरक्षा व्यवस्थामा पनि ध्यान दिनुपर्ने आवश्यकता रहेको सरोकारवालाहरू बताउँछन्।
राइनासकोटबाट देखिने अन्नपूर्ण, मनास्लु लगायतका हिमशृंखला, हरियाली डाँडाकाँडा र लालिगुँरासको संयोजनले जो–कोहीलाई लोभ्याउने गरेको छ। प्राकृतिक सौन्दर्यसँगै स्थानीय संस्कृति, परिकार र आतिथ्यले पर्यटकको मन जितिरहेको छ।
यस क्षेत्रको व्यवस्थित विकास गर्न सके लमजुङलाई प्रमुख पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न सकिने विश्वास गरिएको छ।









