
जिल्ला प्रशासन कार्यालय लमजुङले माघ २० गतेभित्र आफूसँग भएका इजाजतप्राप्त हातहतियार (बन्दुक) बुझाउन नागरिकलाई अनुरोध गरेको छ । कार्यालयले निर्वाचन नजिकियकाले एक सूचना जारी गर्दै आफूसगँ भएको हातहतियार बुझाउन अनुरोध गरेको हो ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, मर्यादित तथा शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउन प्रशासनले हतियार बुझाउन आग्रह गरेको छ ।
निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गराउन माघ २० गते भन्दा अघि नै सबैखाले हतियार बुझाउन प्रसासनद्धारा निकालिएको सूचनामा आग्रह गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय लमजुङअन्तर्गत जिल्ला कमाण्ड पोष्टको माघ ६ गते बसेको बैठकको निर्णयअनुसार सबै इजाजत प्राप्त हातहतियार माघ २० गतेभित्र सम्बन्धित स्थानीय प्रहरी कार्यालयमा बुझाउन निर्देशन दिइएको छ । आफूसँग भएका इजाजत प्राप्त हातहतियार अनिवार्य रूपमा नबुझाए कानुनबमोजिम कारबाही हुने प्रशासनले चेतावनी दिएको छ ।
जिल्ला प्रशासन कार्यालयका अनुसार लमजुङमा १ हजार बढी दर्तावाला हातहतियार (बन्दुक) छन् । यीमध्ये कमैले नवीकरण गरेका छन् । अधिकांश नवीकरण भएका छैनन् । बुझाइएका हतियार चैत २० गतेपछि हातहतियार फिर्ता हुने जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी थम्मनसिंह गौतमले बताउनुभयो ।









