
जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या थपिदै गएर ३४ पुगेको छ । मंगलबार भएको प्रर्दशनका क्रममा १९ जनाको मृत्यु भएपनि घाइतेहरुको उपचारको क्रममा मृत्यु हुनेको संख्या बढ्दै गएको हो ।
स्वास्थ्य मन्त्रालय भदौ २६ गते सार्वजनिक गरेकोे पछिल्लो विवरण अनुसार देशभरका विभिन्न अस्पतालमा उपचारका क्रममा मृत्यु हुनेको संख्या ३४ पुगेको जनाएको हो ।
हाल देशका विभिन्न अस्पतालमा ३ सय २१ जना घाइतेहरुको उपचार भैरहेको छ भने ९ सय ४९ जना उपचारपश्चात डिस्चार्ज भई घर गएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताउनु भयो ।
भदौ २३ गते भएको जेनजीको प्रर्दशननमा निसस्त्र प्रदर्शनकारी माथि प्रहरीको सशस्त्र जत्थाले अन्धाधुन्ध गोली प्रहार गरेको थियो । त्यसक्रममा घाइते भएकालाई प्रदर्शनकारीहरूले अस्पताल पु¥याएका थिए । कतिपयको बाटैमा र कतिको अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
भ्रष्टाचार, सामाजिक सञ्जाल बन्द र शासकीय अव्यवस्थाविरुद्ध जेनजीहरूले गरेको प्रदर्शनमा प्रहरीले बर्बर दमन गरेको थियो । नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि प्रदर्शनकारीहरूले घेरा तोडेपछि आन्दोलनकारी र प्रहरीबीच झडप भएको थियो ।









