नागरिकलाई ५७ लाख रुपैयाँ बराबरको निशुल्क सेवा

-


     नयाँ दीप    
     श्रावण १५ गते २०८२ मा प्रकाशित


लमजुङको सुन्दरबजारमा रहेको नमूना सामुदायिक अस्पतालले झण्डै ५७ लाख रुपैयाँ बराबरको निशुल्क सेवा दिएका छ ।
अस्पताले सो अवधिमा कूल २१ हजार विरामीलाई सेवा दिएकोमा झण्डै ६ हजार विरामीले निःशुल्क सेवा पाएका र ती बिरामीहरुले ५६ लाख ८२ हजार ७ सय ७० रुपैयाँ बराबरको निःशुल्क सेवा पाएका हुन् । निशुल्क सेवा पाउनेमा ३ हजार ४ सय ४५ महिला र २ हजार १ सय १९ पुरुष रहेका छन् ।

गत आर्थिक बर्षमा अस्पतालको बहिरंग विभागबाट १७ हजार ५ सय १२, अन्तरंग विभागबाट ६ सय ८८, आकस्मिक सेवातर्फ २ हजार ८ सय ४४, निदनात्मक परीक्षणतर्फ १ लाख ३४ हजार २ सय ६० जनालाई सेवा दिएको अस्पतालले १ हजार ८ सय ४७ जना विरामीको शल्यक्रिया गरेको अस्पतालका प्रमुख हेमन्त श्रेष्ठले जानकारी दिनुभयो ।

सो अवधिमा अस्पतालबाट ३ हजार ३ सय ६९ जनाले दन्त सेवा, १ हजार २ सय ८७ जनाले फिजियोथेरापी सेवा, १ सय २९ जनाले रेविजको भ्याक्सिन सेवा र ४८ जनाले टेलिमेडिसिन सेवा पाए ।

गत आर्थिक बर्षमा अस्पतालमा ३२ जनाको सर्पदंशको उपचार गरिनुका साथै बिषाक्त खाना(फुड पोइजन)का २ सय १८ जना र बिष सेवन गरेका ३२ जनाले उपचार पाएका अस्पताल प्रमुख श्रेष्ठले बताउनुभयो ।

अस्पतालले गत आर्थिक बर्षमा विभिन्न स्थानमा आयोजना गरेको निःशुल्क स्वास्थ्य सेवाबाट ३ हजार १ सय बिरामीले सेवा पाएका छन् । आर्थिक अवस्था कमजोर भएका, दुरदराजका नागरिकसम्म सरल, सहज रुपमा स्वास्थ्य सेवाको पहुँच पुर्याउने आफुहरुको उद्धेश्य रहेको प्रमुख श्रेष्ठले बताउनुभयो ।

गत आर्थिक बर्षमा नमूना अस्पतालले गण्डकी प्रदेश सरकारबाट २५ शैयाको अस्पताल सञ्चालनको स्वीकृति पाएको छ । जिल्लामै पहिलो पटक पल्मोनरी फङसन टेष्ट सेवा शुरु गरेको अस्पतालले गण्डकी प्रदेश प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाबाट सी ग्रेडको प्रयोगशालाको स्वीकृति पाएको छ । हाल अस्पतालले प्रयोगशाला, फिजियोथेरापी, स्टोर र फार्मेसी विभागको नयाँ भवन निर्माण कार्य समेत शुरु गरेको छ ।

नमूना अस्पतालले कम्प्युटराइज सिष्टमबाट आँखाको परीक्षण सेवा पनि शुरु गर्नुका साथै ल्याब इन्फर्मेसन सिस्टम सञ्चालन गरेको छ । २ वर्ष अघिबाट मानव विकास तथा सामुदायिक सेवा (एचडिसिएस)ले ब्यवस्थापन जिम्मा लिएपछि अस्पतालमा अघिल्लो बर्षको तुलनामा गत बर्ष बहिरंग र आकस्मिक बिभागबाट सेवा लिनेको संख्या २५ प्रतिशतले वृद्धि भएको छ ।

यसरी अस्पतालबाट सेवा पाउँदा स्थानीय निकै खुशी भएका छन् । सुन्दरबजार ७ का दिलबहादुर गुरुङ आफूले अस्पतालबाट राम्रो उपचार पाएकोमा खुशी व्यक्त गर्नुहुन्छ । गाउँघरमा नै सुविधा पाएपछि जिल्ला बाहिर खर्च गरेर जान नपरेको गुरुङको भनाई छ ।

यसबाहेक अस्पतालले सुन्दरबजार र राईनास नगरपालिका तथा दोर्दी गाउँपालिकाका विभिन्न स्थानमा निःशुल्क स्वास्थ्य शिविर, स्वास्थ्य शिक्षा कार्यक्रम, विद्यालय स्वास्थ्य कार्यक्रम, बिएलएस तालिम तथा समुदाय स्वास्थ्य कार्यक्रम आयोजना गरी बिरामीका लागि निःशुल्क यातायात र बिशेष प्याकेजमा होमकेयर सेवा शुरु गरेको छ ।

अस्पतालले आगामी दिनमा स्वास्थ्य बीमा कार्यक्रमको अनुमति लिई सेवा प्रदान गर्ने, बिशेषज्ञ सेवाहरु थप गर्ने, नसर्ने रोगका लागि अस्पताल तथा विद्यालय र समुदायमा बिशेष स्वास्थ्य कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको अस्पतालले जनाएको छ ।