गण्डकी प्रदेशमै पहिलो पटकः सुन्दरबजार २ परेवाडाँडालाई बालमैत्री तथा पोषणमैत्री वडा घोषणा

-


     नयाँ दीप    
     असार २१ गते २०८२ मा प्रकाशित


सुन्दरबजार नगरपालिकाको सान बालमैत्री तथा पोषणमैत्री हाम्रो अभियान भन्ने नाराका साथ सुन्दरबजार नगरपालिका वडा नं. २ परेवाडाँडालाई बालमैत्री तथा पोषणमैत्री वडा घोषणा गरिएको छ । बालमैत्री वडा घोषणा भए पनि पोषणमैत्री समेत एकैचोटी घोषण हुनेमा गण्डकी प्रदेशमै सुन्दरबजार २ पहिलो भएको छ ।

शुक्रवार बाजागाजा सहितको झाँकी ¥यालीले परेवाडाँडा परिक्रमा गरी भव्य कार्यक्रमका साथ बालमैत्री तथा पोषणमैत्री वडा घोषणा गरिएको हो । उक्त कार्यक्रम सुन्दरबजार नगर प्रमुख कृष्ण प्रसाद कोइरालाको प्रमुख आतिथ्यतामा भएको हो । पोषणमैत्री ५१ र बालमैत्री ३४ सूचक पूरा गरेपछि बाल तथा पोषणमैत्री वडा घोषणा भएपछि नगरपालिका पनि निकट भविष्यमै घोषणा गर्न सकिने कुरा हामीलाई अनुभव भएको कार्यक्रमका प्रमुख अतिथि कोइरालाले बताउनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि कोइरालाले बाल तथा पोषणमैत्री प्रतिबद्धतापत्रमा हस्ताक्षर गरेपछि सबै अतिथिहरु र सहभागी सबैले प्रतिबद्धतापत्रमा हस्ताक्षर गरिएको थियो । बाल तथा पोषणमैत्री सूचकका आधारमा मूल्याङ्कन गर्दा देउराली नेवाः खल प्रथम, परेवाडाँडा खानेपानी द्वितीय र सिजनशील आमा समुह तृतीय भएका छन् । कार्यक्रममा पुरस्कृत समुहलाई सम्मान गरिएको थियो ।

शिक्षा, स्वास्थ्य, उपयुक्त पोषण, आजआर्जन र पूर्वाधार विकास लगायका सूचक पूरा गर्न हामी लागिरहेको नगरप्रमुख कोइरालाको भनाई थियो । यसैगरी अब ०८३\०८४ साल भित्रै सम्पूर्ण नगरपालिकालाई बाल तथा पोषणमैत्री नगरपालिका घोषणा गर्ने तयारी लागिरहेको प्रमुख प्रशासकीय अधिकृत रमेश घर्तीले बताउनु भयो । कार्यक्रममा सुन्दरबजार ६ का वडा अध्यक्ष दिनेश बाबु कोइराला, वडा नं. ८ का अध्यक्ष विजेन्द्र थापा, नेकपा एमाले सुन्दरबजार नगर समितिका अध्यक्ष द्वारिका मिश्र, टोल विकास संस्थाका अध्यक्ष नारायण पन्थ, तुल कुमार श्रेष्ठ, वल्र्ड भिजनका प्रमुख शुक्रराज गुरुङ, आरसिडिसीका संस्थापक राजेन्द्र बोहरा, लगायतले मन्तव्य राख्नु भएको थियो ।

सुन्दरबजार २ का वडा अध्यक्ष नवीन कुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा इन्दु अधिकारीले स्वागत गर्नुभएको थियो भने कान्ति मन्दिर माविका छात्रा सुरक्षा परियार विद्याज्योति माविका छात्र अनुपम गौलीले सञ्चालन गर्नुभएको थियो ।