
लमजुङ मा.वि गाउँशहरको ७६ औं वाषिकोत्सव तथा ४१ औं अभिभावक दिवश विविध कार्यक्रमका साथ मनाईएको छ ।
बेसीशहर नगरपालिका वडा नं ३ मा रहेको विद्यालयको व्यवस्थापन समितिको अध्यक्ष कृष्ण बहादुर देउजाको अध्यक्षतामा भएको वार्षिकोत्सव कार्यक्रममा बेसीशहर नगरपालिका प्रमुख गुमानसिहं अर्याल प्रमुख अतिथि रहनुभएको थियो ।
कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि अर्यालले यो विद्यालय निकै पुरानो विद्यालय भएको र विभिन्न आरोह अवरोहहरु पार गर्दै अहिले स्थान सम्म आउनु सफलता रहेको बताउनुभयो । अन्य विकसित मूलकको तुलनामा नेपालको शिक्षा नीति नै कमजोर रहेको भन्दै विद्यालयमा आउने हरेक समस्याहरुलाई सबै मिलेर समाधान गर्नुपर्नेमा नगरप्रमुख अर्यालको भनाई थियो ।

कार्यक्रमा विशिष्ट अतिथि वडा नं ३ का वडाध्यक्ष चित्र बहादुर दनाई, वडा नं २ वडाध्यक्ष मदन राना, नेपाली काङग्रेस गण्डकी प्रदेशका संगठन प्रमुख हरीप्रसाद बराल, नेकपा एमालेको तर्फबाट पूर्व वडाध्यक्ष सूर्यकुमार श्रेष्ठ, राष्ट्रिय स्वतन्त्र पार्टीका वडा सभापति हरीप्रसाद अधिकारी, वडा नं ३ सदस्य कृष्ण भुजेल, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष नेत्रप्रसाद बोहरा, यशोब्रह्मा माविका अध्यक्ष तिलक दुलाल तथा प्रअ सूर्यप्रसाद बराल, लमजुङ कालिका युवाक्लवका सहसचिव सर्मिला थापा, विद्यार्थीहर योजना हिमाली र दिपेश थापा लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा विद्यालय प्रधानाध्यापक सीता बरालले बार्षिक प्रगती प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने लेखापाल देवकुमारी श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । विद्यालयका शिक्षक देवबहादुर गुरुङले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको शिक्षक राजनबाबु अधिकारीले सहजिकरण गर्नुभएको थियो । कार्यक्रममा विद्यार्थीहरुले विभिन्न सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरेका थिए ।