
सञ्चार तथा सुचना प्रविधि मन्त्री, नेपाल सरकारका प्रवक्ता माननीय पृथ्वीसुब्बा गुरुङले आगामी दिनमा क्व्होलासोथारबासीले थप सहज, छिटो छरितो, सुविधाजनक, पारदर्शी सेवा पाउने बताउनुभएको छ।
बिहिबार क्व्होलासोथार गाउँ कार्यपालिकाको प्रशाकीय भवन उद्घाटन समारोहमा बोल्दै मन्त्री गुरुङले सो धारणा व्यक्त गर्नुभएको हो।
पालिकाको सुविधा सम्पन्न प्रशाकीय भवन निर्माण भईसकेकोले त्यसबाट प्रवाहित सेवासुविधा ज्यादै उत्कृष्ट हुने पनि उहाँले बताउनुभयो। अबका दिनमा गाउँपालिकाबाट दिईने सेवाहरु ढिलासुस्ती, अनियमितता, भ्रष्टाचार रहित हुनुपर्ने बताउँदै यस्ता विषयमा शुन्य सहनशीलता रहने मन्त्री गुरुङले बताउनुभयो। सुचनाप्रविधिको भरपुर उपयोग गर्दै कागजात रहित सेवा प्रवाहमा जान सकिने भएकोले त्यसलाई व्यवहारमा उतार्न पनि उहाँले आग्रह गर्नुभयो ।

गाउँपालिकामा सुविधायुक्त सडक निर्माणको काम आफु गण्डकी प्रदेशको मुख्यमन्त्री रहँदा नै काम थालनी गरेको तर विचमा आग्रह–पुर्वाग्रह, बजेट कटौती जस्ता कारणले काम रोकिएको बताउँदै अहिले काम सुरु भईसकेको जानकारी गराउनु भयो। जिल्लाका अन्य स्थानीय तहहरुमा पनि प्राथमिकताका साथ भौतिक निर्माणको काम अघि बढिरहेको जानकारी गराउँदै पुर्वाधार विकास, शिक्षा, स्वास्थ्य, रोजगारी, कृषि, पर्यटन सुचनाप्रविधि, खेलकुद लगायतका क्षेत्रमा पनि काम भईरहेकोमन्त्री गुरुङले बताउनुभयो।
डुम्रे–बेसीशहर हुँदै मनाङ, लमजुङका विभिन्न स्थानबाट पोखरासम्म जाने सडक स्तरोन्नतिका कामहरु पनि अघि बढिरहेको उहाँले बताउनुभयो। मुलुकमा सबै क्षेत्रमा समयानुकूल विकासका लागि छिमेकी मुलुक चिन सँग सहयोग सम्झौता गरिएको बताउँदै आगमी दिनमा अन्य मित्रराष्ट्र र दातृ निकाय सँग ऋण माग्ने भन्दा अनुदान सहयोग लिईने पनि उहाँले बताउनु भयो।

कार्यक्रममा गण्डकी प्रदेशका वन तथा वातावरण मन्त्री भेषबहादुर पौडेलले तीन तहका सरकारमा सबैभन्दा नजिकको सरकार नै स्थानीयतह भएको अवस्थामा स्थानीय सरकार भौतिक, आर्थिक, सुचना प्रविधि सबै हिसाबले सुविधा सम्पन्न हुनु आवश्यक रहेको बताउनुभयो। समयानुकूल सेवा दिन जनप्रतिनिधि र कर्मचारीलाई जिम्मेवार, ईमानदार र जवाफदेही बन्न आग्रह पनि मन्त्री पौडेलले गर्नुभयो। प्रदेश सरकारका तर्फबाट आवश्यक सहयोग उपलव्ध गराउन आफू प्रतिवद्ध रहेको पनि उहाँले बताउनुभयो।
त्यसैगरी संविधानसभा सदस्य एवम् नेकपा एमाले लमजुङका ईञ्चार्ज जमिन्द्रमान घलेले क्व्होलासोथारबासीले अझै सहज र प्रभावकारी सेवा पाउने बताउनुभयो। सेवाग्राहीको चाहना र आवश्यकता बुझेर सेवा प्रवाहमा नवनिर्मित भवनले टेवा पु¥याउने पनि उहाँले बताउनुभयो।
त्यसैगरी गण्डकी प्रदेशका सांसदहरु पार्बती तामाङ, यशोदा रिमालले पनि शुभकामना व्यक्त गर्दै जिल्लाको विकासमा आफुहरु प्रतिवद्ध रहेको बताउनुभयो। कार्यक्रममा गाउँ पालिकाका निवर्तमान अध्यक्ष प्रेमबहादुर घलेले शुभकामना व्यक्त गर्दै गाउँ पालिकाको विकासमा आफू जहिल्यै खट्ने बताउनुभयो। स्थानीय बासिन्दालाई प्रभावकारी सेवा प्रदान गर्न आफ्नै कार्यकालमा प्रशासकीय भवन निर्माणको पहल गरि काम सुरुवात गरेकोमा अहिले सोही भवनबाट सेवा प्रवाह भएको देख्दा खुशी व्यक्त गर्नुभयो।
क्व्होलासोथार गाउँ कार्यपालिका अध्यक्ष सुर्यप्रसाद गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष गमीमाया गुरुङले स्वागत गर्नुभएको थियोे भने प्रमुख प्रशासकीय अधिकृत माधवप्रसाद वाग्लेले कार्यक्रम सञ्चालन गर्नुभयो।
४ करोड ३६ लाख ९६ हजार ४ सय ६० रुपैयाँ ७० पैसा (भ्याटसहित) मा सम्झौता गरेकोमा निर्माण कम्पनीले सम्झौता रकमभन्दा कम ४ करोड १४ लाख १२ हजार ९ सय ३९ रुपैयाँ ६३ पैसामा गत भदौमा भवन निर्माण सम्पन्न गरी सोही भवनबाट नै पालिकाको कामहरु गर्दै आएको पालिका प्रमुख सूर्य गुरुङले बताउनुभयो । भवनमा ३६ वटा कोठा र एउटा हल बनाइएको छ ।२ रोपनी ४ आना २ पैसामा जग्गामा रविना–अविशा–विकन जेभीले भवन निर्माण गरेको हो ।