कोपाडेसका अध्यक्ष डिकेन्द्रराज कँडेल आफ्नै डेरामा मृत फेला

-


     नयाँ दीप    
     भाद्र ६ गते २०८३ मा प्रकाशित


लमजुङ । जनचेतना अभिवृद्धि तथा विकास अध्ययन समिति (कोपाडेस) का अध्यक्ष एवं नेपाली कांग्रेसका महासमिति सदस्य डिकेन्द्रराज कँडेल आफ्नै डेरामा मृत अवस्थामा फेला परेका छन्।

राइनास नगरपालिका–४ अलकटार निवासी कँडेल बेसीसहर नगरपालिका क्षेत्रमा पर्ने दनाइँफाँट नजिकै कालिका चोक, तामाङटोलस्थित डेरामा शनिबार बिहान मृत भेटिएका हुन्।

प्रारम्भिक प्रहरी जानकारीअनुसार कँडेल शुक्रबार साँझ नुहाएर डेरामा बसेका थिए। शनिबार बिहान डेरामा मृत अवस्थामा भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। उनको मृत्यु शुक्रबार राति नै भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिए पनि मृत्युको यकिन कारण भने खुल्न सकेको छैन।

प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ। घटनाको प्रकृति र मृत्युको कारणबारे आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ।

सामाजिक क्षेत्रमा सक्रिय कँडेल कोपाडेसका अध्यक्षका साथै नेपाली कांग्रेसका महासमिति सदस्य थिए। उनी ग्लोबल आइएमई बैंकसँग मर्ज हुनुअघि प्यासिफिक डेभलपमेन्ट बैंकका सञ्चालकसमेत रहेका थिए।

डिकेन्द्रराज कँडेलको अन्त्येष्टिका लागि उहाँको पार्थिव शरीर काठमाडौं लगिएको छ। कँडेलको सम्पूर्ण परिवार काठमाडौंमा बसोबास गर्दै आएकाले परिवारले नै उहाँको पार्थिव शरीर काठमाडौं लगेको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ। परिवारको निर्णयअनुसार अन्त्येष्टिका लागि पार्थिव शरीर काठमाडौं लगिएको प्रहरीले जनाएको हो।

काठमाडौँ लैजानुअघि कँडेलको पार्थिव शरीरलाई लमजुङको बेँसीसहरस्थित नेपाली कांग्रेसको बीपी स्मृति भवनमा केही समय श्रद्धाञ्जलीका लागि राखिएको थियो। श्रद्धाञ्जली कार्यक्रममा नेपाली कांग्रेस जिल्ला सभापति तथा गण्डकी प्रदेशका पूर्व आर्थिक मामिला मन्त्री डा. टकराज गुरुङ, पूर्व वन तथा वातावरण मन्त्री भेषबहादुर पौडेल, गण्डकी प्रदेशसभा सदस्य पार्वती तामाङलगायत पार्टीका नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो। त्यस क्रममा नेपाली कांग्रेसका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूले उहाँप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए।