लमजुङमा विकासको चर्को बहस: नेतृत्वको दाबी र नागरिकका प्रश्न

-


     भरतबाबु घिमिरे     
     भाद्र ४ गते २०८३ मा प्रकाशित


नेपाल लिडको ‘लिसन सिंहदरबार–समृद्धि यात्रा’अन्तर्गत लमजुङमा आयोजित बहसमा जिल्लाको विकास, पूर्वाधार, पर्यटन, रोजगारी र स्थानीय सरकारको कार्यसम्पादनबारे राजनीतिक नेतृत्व तथा नागरिकबीच चर्को बहस भएको छ। नेपाल लिडको ‘लिसन सिंहदरबार–समृद्धि यात्रा’अन्तर्गत वरिष्ठ पत्रकार राजेन्द्र बानियाँसहितको टोलीले लमजुङको बेसीशहरमा बहस कार्यक्रमको आयोजना गरेका हुन् ।

कार्यक्रममा लमजुङका सांसद धर्मराज केसीले सरकार गठन भएको छोटो समयमै ठूलो परिवर्तनको अपेक्षा गर्न नहुने बताए। उनले आफू कानून निर्माणका लागि निर्वाचित भए पनि जिल्लाका समस्या प्रत्यक्ष बुझेर समाधानका लागि पहल गरिरहेको उल्लेख गरे। विशेषगरी सुन्दरबजार–भोर्लेटार सडकको समस्या समाधानका लागि सम्बन्धित निकाय र ठेकेदारसँग छलफल भइरहेको भन्दै उनले पुरानो ठेकेदार काम गर्न तयार नभए नयाँ ठेक्कामार्फत काम अघि बढाउने र चालु आर्थिक वर्षभित्र सडक निर्माण अघि बढाउने दाबी गरे।

बेँसीशहर नगरपालिकाका मेयर गुमानसिंह अर्यालले लमजुङमा विकास नभएको भन्ने धारणा सही नभएको बताए। विगतको अवस्थासँग तुलना गर्दा सडक तथा भौतिक पूर्वाधारका क्षेत्रमा जिल्लाले उल्लेख्य प्रगति गरेको उनको दाबी थियो। तर, उनले विकासको अर्को महत्वपूर्ण आधार पर्यटन भएकाले मनाङ जाने पर्यटकलाई लमजुङमा केही दिन रोक्ने वातावरण बनाउनुपर्ने बताए। पर्यटकीय स्थलसम्म पहुँच, खाने–बस्ने सुविधा, मनोरञ्जन र स्थानीय संस्कृति तथा उत्पादनसँग जोडिने कार्यक्रम आवश्यक रहेको उनको भनाइ थियो।

यद्यपि, मेयर अर्यालको विकाससम्बन्धी दाबीप्रति कार्यक्रममै नागरिकहरूले प्रश्न उठाए। उनीहरूले बेँसीशहर बजारमा भएका केही सडक तथा पूर्वाधारलाई मात्र समग्र नगरपालिकाको विकास मान्न नहुने भन्दै नगरपालिकाका सबै वडा, बस्ती र टोलमा समान रूपमा विकासको अनुभूति हुनुपर्ने बताए। स्थानीय भोला शर्माले बेँसीशहर बजार मात्रै नभई चिति, उदिपुर, नाल्मा, पुरानकोट, बाँझखेतलगायत सबै क्षेत्रलाई समेटेर समग्र नगरपालिकाको विकासको दृष्टिकोण बनाउनुपर्ने धारणा राखे।

कांग्रेस नेता गमप्रसाद गुरुङले विगतमा स्थानीय श्रम, स्रोत र जनसहभागितामा विकास गर्ने उद्देश्यसहित अघि सारिएको ‘लमजुङ मोडल’लाई निरन्तरता दिन नसकिएको बताए। जिल्लामा सम्भावनाको कमी नभए पनि ती सम्भावनालाई आर्थिक अवसरमा बदल्ने इच्छाशक्ति र योजनाको अभाव रहेको उनको भनाइ थियो। स्थानीय स्रोत, उत्पादन र सम्भावनालाई आर्थिक गतिविधिसँग जोडेर रोजगारी सिर्जना गर्नुपर्ने उनले बताए।

नेकपा एमालेका नेता धनञ्जय दवाडीले सडक, पुल र खानेपानी निर्माणलाई प्राथमिकता दिँदै जिल्लाका आठवटै पालिकाका विभिन्न क्षेत्रमा हिउँदमा यातायात सञ्चालन हुने अवस्था बनाइएको दाबी गरेका छन्। तर वर्षायाममा सडक अवरुद्ध हुने समस्या अझै कायम रहेकाले बाह्रै महिना चल्ने दिगो सडक निर्माणका लागि पर्याप्त स्रोत आवश्यक रहेको उनले बताए। एमालेले २०५४ सालदेखि योजनाबद्ध रूपमा जिल्लाको विकासमा काम गर्दै आएको दाबी गर्दै दवाडीले ‘एक घर, एक धारा’ र घरघरमा सडक पुर्‍याउने योजनालाई समेत प्राथमिकता दिइएको उल्लेख गरे।

त्यस्तै, लमजुङका बौद्धिक व्यक्तित्व एवं शिक्षाकर्मी विमल अधिकारीले जलविद्युत्, पर्यटन र कृषिलाई जिल्लाको समृद्धिका मुख्य आधारका रूपमा उपयोग गर्नुपर्ने बताए। पर्यटक लमजुङ हुँदै जाने तर लामो समय नबस्ने अवस्था रहेकाले स्थानीय होटल, होमस्टे, कृषि उत्पादन, रेस्टुरेन्ट, गाइड तथा स्थानीय संस्कृतिसँग पर्यटनलाई जोड्नुपर्ने उनको सुझाव थियो। दीर्घकालीन योजना र प्रभावकारी कार्यान्वयनसँगै राजनीतिक नेतृत्वको स्पष्ट प्रतिबद्धता आवश्यक रहेको उनले बताए।

मर्स्याङ्दी बचाऊ अभियानका संयोजक राम थापाले मर्स्याङ्दी नदी र यससँग जोडिएका प्राकृतिक स्रोतको संरक्षणका लागि सरकार गम्भीर र प्रमाणमा आधारित रूपमा अघि बढ्नुपर्ने बताएका छन्। उनले विकासका नाममा हुने गतिविधिले स्थानीय समुदाय, वातावरण र नदीको अस्तित्वमा पार्ने प्रभावबारे स्पष्ट अध्ययन र प्रमाणका आधारमा निर्णय लिनुपर्नेमा जोड दिए।

थापाले मर्स्याङ्दी संरक्षणको विषयलाई कुनै एक पक्षको मात्र मुद्दा नभई स्थानीय नागरिक, सरोकारवाला निकाय र सरकार सबैको साझा जिम्मेवारीका रूपमा लिनुपर्ने बताए। साथै, सरकारका निर्णय र कार्यान्वयन प्रक्रियामा पारदर्शिता तथा नागरिकको सहभागिता सुनिश्चित गर्नुपर्ने उनको भनाइ छ।

नेपाली कम्युनिष्ट पार्टीका नेता हरिजंग तामाङले जिल्लाको विकाससँग जोडिएका समस्या समाधानका लागि राजनीतिक दलहरूबीच आरोप–प्रत्यारोपभन्दा सहकार्य र समन्वय आवश्यक रहेको बताएका छन्। नेपाल लिडको ‘लिसन सिंहदरबार’ विशेष बहस कार्यक्रममा बोल्दै उनले जनताको हितलाई प्राथमिकतामा राखेर जुनसुकै दल नेतृत्वमा भए पनि सकारात्मक काममा साझा प्रयास गर्नुपर्ने बताए। जिल्लाका समस्या समाधानका लागि आफूहरूले निरन्तर आवाज उठाउँदै आएको उल्लेख गर्दै तामाङले राजनीतिक प्रतिस्पर्धाभन्दा विकास र जनताको हितलाई केन्द्रमा राख्नुपर्नेमा जोड दिए।

बहसमा सहभागी नागरिकहरूले भने विकासको वास्तविक अवस्था र राजनीतिक नेतृत्वको दाबीबीचको अन्तरबारे प्रश्न उठाए। यज्ञप्रसाद घिमिरेले जनताले सरकारबाट ठूलो अपेक्षा गरे पनि अपेक्षाअनुसार काम हुन नसकेको गुनासो गरे। भरत राना मगरले बेँसीशहरसम्मको सडक र कालिका मन्दिरलगायत स्थानीय पूर्वाधारको अवस्था उठाए भने रविन राउतले जलविद्युत् आयोजनाबाट प्राप्त रोयल्टीको सदुपयोगबारे प्रश्न गरे।

त्यसैगरी रेशम दनाईले मनाङ जाने सडक कहिले सुधार हुन्छ भन्दै प्रश्न गरे। मनु परियारले जिल्लामा विकास अपेक्षित गतिमा अघि बढ्न नसकेको भन्दै राजनीतिक नेतृत्वसँग जवाफ मागिन्। पद्मबहादुर दनाईले बेँसीशहरका गल्लीसम्म सडक तथा पिचको समस्या रहेको बताए भने कांग्रेस जिल्ला कार्यसमिति सदस्य लप्टन कमल अधिकारीले विदेशिएका युवालाई स्वदेशमै रोक्न सरकारले गरिरहेको प्रयासबारे प्रश्न गरे। पुष्प आचार्यले सडकसँगै खानेपानी र विद्युत्को समस्या उठाए।

मीनबहादुर गुरुङ तामाङले राजनीतिक प्रतिनिधिहरूले विकासका उपलब्धि दाबी गरे पनि त्यसको अनुभूति नागरिकले गर्न नसकेको बताए। उनले ‘विकास ल्यायौँ, गर्यौँ’ भन्ने दाबी भइरहे पनि विकास कहाँ भएको छ भन्ने प्रश्न गरे।

समग्रमा कार्यक्रममा लमजुङमा सडक, खानेपानी, विद्युत्, जलविद्युत्, पर्यटन, रोजगारी र युवाको विदेश पलायन मुख्य विषय बने। राजनीतिक नेतृत्वले विगतको तुलनामा विकास भएको र आगामी दिनमा थप काम गर्ने दाबी गरे भने नागरिकहरूले विकासका तथ्य र दाबीभन्दा पनि त्यसको प्रत्यक्ष अनुभूति हुनुपर्नेमा जोड दिए।

समग्रमा, बहसमा राजनीतिक नेतृत्वले विकासका काम भइरहेको र आगामी दिनमा थप परिणाम दिने दाबी गरे पनि नागरिकहरू भने पूर्ण रूपमा सन्तुष्ट देखिएनन्। सडक, खानेपानी, विद्युत्, रोजगारी, पर्यटन तथा स्थानीय विकासका सवालमा नागरिकका प्रश्न र असन्तुष्टि अझै कायमै रहेको देखियो। नेतृत्वका दाबीभन्दा नागरिकले प्रत्यक्ष अनुभूति गर्ने विकास र परिणाम खोजेको बहसले स्पष्ट पारेको छ।