
नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेको सरकार पछि नेपालमा सरकार छ कि छैन भन्ने जनताले अनुभुती गर्न नपाएको बताउनुभएको छ ।
शुक्रबार लमजुङको सुन्दरबजार नगरपालिका ६ खत्रीठाँटीमा नेकपा एमालेको आमसभालाई सम्बोधन गर्दै अध्यक्ष ओली यस्तो बताउनुभएको हो ।
नेकपा एमालेको पालामा गरेका बिकास निर्माणका कामले निरन्तरता पाउन नसकेको गुनासो गर्दै जनताले सरकार भएको महसुस गर्न पाएका छैनन् ओलीले भन्नुभयो । ओलीले विकास निर्माणका कामहरु ठप्प जस्तै भएकोले रोजगारी सिर्जना हुननसकेको बताउनुभयो ।
एमालेको सरकार हुँदा दैनिक ५⁄६ किलोमिटर बाटो पिच हुने गरेको तर अरु सरकारका पालामा बार्षिक ११ किलोमिटर मात्रै बाटो मात्र पिच हुने गरेको भन्दै विकास निमार्णका कामहरु कछुवाको गतिमा भएको बताउनुभयो ।
उहाँले जिल्लामा समस्याका रुपमा भएका र अत्यावश्यक भन्दै जानकारी गराइएका कुराहरुमा अभियान पश्चात काठमाण्डौ पुगि छलफल गरेर प्राथमिकताको आधारमा काम गर्ने बताउनुभयो ।
नेकपा एमालेको बैतडीको झुलाघाट देखि पाँचथरको चिवाभञ्ज्याङसम्म समृद्धिका लागि संकल्प यात्रा २०८० अन्तर्गत लमजुङको खत्रतिठाँटीको बषपार्कमा रहेको नेपालको झण्डोतलन गर्नु भएको थियो ।
आमसभामा नेकपा एमाले उप महासचिब पृथ्वि सुब्बा गुरुङले लमजुङ जिल्लामा गर्नुपर्ने कामहरु र हाल भईरहेका योजनाको गतिबिधि सहितको प्रेस बिज्ञप्ती पढेर ओलीलाई बुझाउनु भएको थियो ।
नेकपा एमालेले मंसिर १४ गतेदेखि सुरु गरेको बैतडीको झुलाघाट देखि पाँचथरको चिवाभञ्ज्याङसम्म समृद्धिका लागि संकल्प यात्रा २०८० अन्तर्गत शुक्रबार लमजुङको सुन्दरबजारमा आमसभा भएको हो । टोली शनिबार गोर्खा जार्ने कार्यक्रम रहेको छ ।
एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको साथमा केन्द्रिय समितिका पदाधिकारी सहितको टोली संकल्प यात्रामा सहभागी भएका छन् ।
अभियान अन्तर्गत गण्डकी प्रदेशको दुई ठाउँ मात्र पर्वत र लमजुङमा आमसभा भएको हो ।
जिल्ला अध्यक्ष कृष्णप्रसाद अधिकारीको अध्यक्षतामा भएको आम सभामा जिल्ला कमिटिको तर्फबाट अध्यक्ष ओलीलाई बख्खु, दोर्दी गाउँ पालिकाको तर्फबाट काठको ठेकी, लगायत भिर मौरीको मह, फलफुल लगाएतका स्थानीय उत्पादन उपहार स्वरुप प्रदान गरिएको थियो ।
नेपालमा कम्युनिष्ट पार्टी स्थापना भएको ७५ औँ वर्षगाँठको अवसरमा नेकपा एमालेले गर्ने विभिन्न रचनात्मक तथा सृजनात्मक गतिविधि अन्तर्गत संकल्प यात्रा पनि एक रहेको एमालेले जनाएको छ ।
आमसभामा लमजुङको पहिचान झल्किने तथा लमजुङमा पाइने जडिवुटी, कृषि उत्पादन तथा हस्तकलाको प्रदर्शनी गरिएको नेकपा एमाले लमजुङका सचिव सुभाष पौडेलले बताउनुभयो । लमजुङको पहिचान झल्किने खालको नाचगान र झाँकी समेत प्रदर्शन गरिएको थियो । आमसभामा लमजुङ, तनहुँ, गोर्खाबाट नेता तथा कार्यकर्ताहरुको उल्लेख्य उपस्थिती रहेको थियो ।