लमजुङमा प्रजिअ र पाँच अधिकारीबीच सम्झौता, शान्ति सुरक्षा, सुशासन, सेवा प्रवाहलाई प्राथमिकता दिने

-


     नयाँ दीप    
     भाद्र ४ गते २०८३ मा प्रकाशित


जिल्ला प्रशासन कार्यालय लमजुङले सेवा प्रवाहलाई थप प्रभावकारी, पारदर्शी र नतिजामुखी बनाउने उद्देश्यले चालु आर्थिक वर्षका लागि प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद खनाल र जिल्लाका पाँच अधिकारीबीच कार्यसम्पादन सम्झौता गरेको छ।

प्रमुख जिल्ला अधिकारी खनालसँग सहायक प्रमुख जिल्ला अधिकारी दीपक पौडेल, प्रशासकीय अधिकृत नवराज शर्मा दोरङ्गा, प्रशासकीय अधिकृत चन्द्रकान्त तिमिल्सिना, जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेत र सशस्त्र प्रहरी बल आश्रित गुल्म लमजुङका प्रहरी नायब उपरीक्षक विकास अधिकारीले कार्यसम्पादन सम्झौता गर्नुभएको हो।

सम्झौतामा जिल्लाको शान्ति सुरक्षा कायम गर्ने, सुशासन प्रवर्द्धन गर्ने तथा नागरिकलाई प्रदान गरिने सेवा प्रवाहलाई थप सहज, प्रभावकारी र गुणस्तरीय बनाउने विषयलाई प्राथमिकता दिइएको छ।

त्यस्तै, विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउने, अपराध नियन्त्रण तथा अनुसन्धानमा समन्वय गर्ने, सामाजिक सुधारका कार्यक्रमलाई अघि बढाउने, सरकारी तथा सरोकारवाला निकायबीचको समन्वय सुदृढ गर्ने र आर्थिक अनुशासन कायम गर्ने विषयलाई पनि सम्झौताका प्रमुख प्राथमिकतामा राखिएको छ।

कार्यसम्पादन सम्झौताले जिम्मेवार अधिकारीहरूको कार्यसम्पादनलाई थप व्यवस्थित, जवाफदेही र परिणाममुखी बनाउँदै जिल्लामा प्रभावकारी प्रशासन तथा गुणस्तरीय सेवा प्रवाह सुनिश्चित गर्न सहयोग पुग्ने जिल्ला प्रशासन कार्यालय लमजुङले जनाएको छ।