जन्मदिनमा वृक्षारोपण गर्दै क्व्होलासोथार गाउँपालिका अध्यक्ष गुरुङ

-


     नयाँ दीप    
     भाद्र ४ गते २०८३ मा प्रकाशित


क्व्होलासोथार गाउँपालिका अध्यक्ष सूर्यप्रसाद गुरुङले आफ्नो जन्मदिनको अवसर पारेर वृक्षारोपण गरेका छन्। वातावरण संरक्षण, हरियाली प्रवर्द्धन तथा गाउँपालिकाको सौन्दर्य बढाउने उद्देश्यले बिहीबार गाउँपालिका–२ मालिङस्थित कार्यालय परिसरमा वृक्षारोपण गरिएको हो।

कार्यक्रममा बेलपत्र र रुद्राक्ष एक–एक तथा पारिजात र असारे फूलका दुई–दुई गरी विभिन्न प्रजातिका ६ वटा बिरुवा रोपिएको गाउँपालिकाले जनाएको छ। वृक्षारोपण कार्यक्रममा गाउँपालिका उपाध्यक्ष गमीमाया गुरुङ, जनप्रतिनिधि, प्रमुख प्रशासकीय अधिकृत माधवप्रसाद वाग्ले तथा कर्मचारीहरूको सहभागिता थियो।

जन्मदिनलाई केवल व्यक्तिगत उत्सवमा सीमित नराखी प्रकृति संरक्षणसँग जोड्ने अभ्यास पछिल्लो समय बढ्दै गएको छ। ‘जन्मदिनमा वृक्षारोपण अभियान नेपाल’ले अघि सारेको यो अभियान लमजुङमा समेत विस्तार हुँदै गएको छ भने देशका विभिन्न स्थानसँगै विदेशमा रहेका नेपाली समुदायसम्म पनि अभियान फैलिँदै गएको बताइएको छ।

जन्मदिनका अवसरमा बिरुवा रोप्ने र त्यसको संरक्षण गर्ने संस्कारले वातावरण संरक्षणसँगै समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने अपेक्षा गरिएको छ।