समाचारको प्रभाव : बेसीसहरमा अलपत्र वृद्धको उद्धार, प्रहरीको भूमिकामाथि स्थानीयको प्रश्न

-


     भरतबाबु घिमिरे     
     भाद्र ३ गते २०८३ मा प्रकाशित


लमजुङको बेसीसहर नगरपालिका–२ बोहराबेसीको अ‍ैसेलुको झाडीमा अलपत्र अवस्थामा फेला परेका ७२ वर्षीय तेजबहादुर गुरुङको बुधबार उद्धार गरिएको छ। गत असोज ३० गतेदेखि घरबाट हराइरहेका गुरुङ मंगलबार साँझ स्थानीयले अलपत्र अवस्थामा फेला पारेका थिए।

बोल्नसमेत नसक्ने अवस्थामा भेटिएका गुरुङलाई स्थानीयले खाना खुवाएर राती पुष्पा धितालको घरमा राखेका थिए। त्यसपछि स्थानीयले प्रहरीलाई खबर गरी उनको उद्धार तथा व्यवस्थापनका लागि आग्रह गरेका थिए।

स्थानीयका अनुसार खबर पाएपछि प्रहरी घटनास्थलमा पुगेको थियो। तर, गुरुङलाई देखेर पनि आवश्यक सहयोग नगरी प्रहरी फर्किएको स्थानीयको गुनासो छ। गुरुङ यसअघि पनि प्रहरीले फेला पारेको व्यक्ति भएको भन्दै प्रहरीले उनलाई बेवास्ता गरी छाडेर गएको बताइएको छ।

अलपत्र अवस्थामा रहेका ज्येष्ठ नागरिकको तत्काल उद्धार गरी सुरक्षित स्थानमा पु¥याउनुपर्नेमा प्रहरीबाट अपेक्षित सहयोग नपाएको स्थानीयको भनाइ छ। ‘प्रहरी हाम्रा साथी’ भन्ने गरिए पनि स्थानीयले खबर गर्दा समेत अलपत्र वृद्धलाई उद्धार नगर्नु दुःखद् भएको उनीहरूको गुनासो छ।

त्यसपछि नयाँ दीप डटकमले मंगलबार राति नै गुरुङको अवस्थाबारे भिडियोसहित समाचार प्रकाशन गरेको थियो। समाचार सार्वजनिक भएपछि उनको अवस्थाबारे व्यापक चासो बढ्नुका साथै उद्धारका लागि पहलसमेत अघि बढेको हो। समाचारको प्रभावपछि बुधबार बिहान प्रहरी पुनः घटनास्थलमा पुगेको थियो।

त्यसक्रममा बेसीसहर नाल्मा समाजले गुरुङको उद्धार गरेको हो। समाजका सचिव कमलराज गुरुङको समन्वयमा उनलाई आफन्तको निगरानीमा गाउँतर्फ लगिएको छ। समाजका अध्यक्ष क्याप्टेन चित्रबहादुर गुरुङले उनको उपचारका लागि आवश्यक आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।

गुरुङलाई मानव सेवा आश्रममा राख्ने कुरा पनि भएको तर घरपरिवार तथा आफन्त भएको व्यक्तिलाई लामोसमय आश्रममा राख्न नसकिने कुरा भएपछि उनलाई गाउँमै लगिएको हो । उनी केही समयदेखि घरमा एक्लै बस्दै आएका थिए। उनका एक छोरा र एक छोरी रहे पनि दुवै बाहिर रहेको तथा श्रीमती साथमा नरहेको स्थानीय टुकमान लामिछानेले बताएका छन्।

गुरुङको उद्धारमा समाचारले महत्वपूर्ण भूमिका खेलेको भन्दै बेसीसहर नाल्मा समाजका सचिव कमल राज गुरुङले नयाँ दीप डटकमप्रति धन्यवाद व्यक्त गरेका छन्। समाचार प्रकाशनपछि सम्बन्धित निकाय तथा आफन्तको ध्यानाकर्षण भई उनको उद्धार सहज भएको उनले बताए।

स्थानीयले भने अलपत्र अवस्थामा भेटिने ज्येष्ठ नागरिक तथा असहाय व्यक्तिको उद्धार र संरक्षणमा प्रहरी तथा सम्बन्धित निकाय अझ जिम्मेवार र संवेदनशील बन्नुपर्ने बताएका छन्। विशेषगरी प्रहरीलाई खबर गरिसकेपछि पनि तत्काल उद्धार र संरक्षणको पहल नहुनुले ‘प्रहरी हाम्रा साथी’ भन्ने भनाइ व्यवहारमा समेत लागू हुनुपर्ने उनीहरूको माग छ।