एकादशीको अवसर पारी मर्स्याङदी महोत्सवको सुरु

-


     नयाँ दीप    
     कार्तिक २७ गते २०८१ मा प्रकाशित


हरिबोधनी एकादशीको अबसर पारेर लमजुङको मर्स्याङदी गाउँपालिकामा आज कार्तिक २७ गतेदेखि मंसिर १ गतेसम्म एकादशी मेलाको साथमा दोस्रो मर्स्याङदी महोत्सव २०८१ आयोजना गरिएको छ ।

मर्स्याङदी गाउँपालिकाको आयोजनामा हुन लागेको महोत्सव अन्तर्गत आज कार्तिक २७ र भोली २८ गते हरिबोधनी एकादशीको धार्मिक मेला लाग्ने छ । यस अन्तर्गत मस्र्याङदी नदीमा फूलको डोरी तार्ने, सांस्कृतिक कार्यक्रम, वडास्तरीय भलिवल प्रतियोगिता स्वास्थ्य शिविर सञ्चालन गरि राष्ट्रिय विभूति भक्ति थापा जन्मस्थन पार्क र डा हर्क गुरुङ समाधिस्थल पार्कमा विभिन्न कार्यक्रम आयोजना हुने छन् ।

कार्तिक २९ गतेका मर्स्याङदी गाउँपालिकाको वडा नं ४ स्थित जगत बजारमा जगत तातोपानी महोत्सव गरिने छ । सो दिन जगत तातोपानी कुण्डमा स्नान, स्थानीय कला संस्कृतिको प्रदर्शनी र स्थानीय उत्पादनहरुको प्रदर्शनी तथा बिक्री वितरणलगायत कार्यक्रम तय गरिएको छ ।

यसैगरि कार्तिक ३० गते मस्र्याङदी गाउँपालिकाका विभिन्न वडाका भीरहरुमा भीरमह शिकार (हनि हन्टिङ) को कार्यक्रम तय गरिएको छ । घनपोखराका साथै ताघ्रिङको काप्रेभीर, स्याँगे भीर, मिप्रा, घेर्मु, बाहुनडाँडाका विभिन्न भीरमा भीर मौरी शिकारको कार्यक्रम तय गरिएको पालिकाका अध्यक्ष अर्जुन गुरुङले बताउनु भयो ।

यसैगरी, मंसिर १ गते मस्र्याङ्दी गाउँपालिका– ४ स्याँगे स्याँगेमा रहेको स्यांगे छहरा, च्याम्चेको बुङ झरना र अक्टोपस झरनामा पनि महोत्सवको तयारी गरिएको अध्यक्ष गुरुङले बताउनु भयो । पर्यटकीय महत्वका यी झरनाको प्रचार प्रसारका साथै स्थानीय कला संस्कृतिको प्रदर्शनी र स्थानीय उत्पादनहरुको प्रदर्शनी तथा विक्रीको कार्यक्रम राखिएको छ ।