
लमजुङको दोर्दी गाउँपालिकाले लेकाली क्षेत्र कोम्रो डाँडामा धर्मशाला निर्माण गरेको छ । गाउँपालिकाले मेमेपोखरी नजिकै समुद्री सतहदेखि करिब ४ हजार मिटर उचाईमा रहेको कोम्रो डाँडामा धर्मशाला निर्माण गरेको जनाएको हो ।
दोर्दी गाउँपालिका अध्यक्ष युवराज अधिकारीले पर्यटकिय स्थल मेमेपोखरी, दूधपोखरी लगायत क्षेत्रमा जाने आउने तीर्थालु तथा पर्यटकलाई सहज होस् भन्ने उद्धेश्यले धर्मशाला निर्माण गरिएको बताउनुभयो ।
लेकालि क्षेत्र भएकोले त्यस स्थानमा कुनै घरहरु नभएको बासास्थानको अभावमा ती क्षेत्रमा पुग्ने पर्यटकलाई निकै सास्ती खेप्नु परेकोले कोम्रो डाँडामा शौचालयसहितको धर्मशाला निर्माण गरेको अध्यक्ष अधिकारीलेब बताउनुभयो । गाउँपालिकाले आर्थिक वर्ष २०८१–०८२ को स्वीकृत कार्यक्रम अन्तरगत विनियोजन गरिएको ९ लाख रुपैयाँ बजेटमार्फत धर्मशाला निर्माण गरेको जनाएको छ ।
दोर्दी गाउँपालिकाको कोम्रो डाँडाबाट हिमालचुली, मनास्लु, बौद्ध हिमाललगायत दर्जनौं हिमश्रृंखलाहरु आँखै अगाडि देख्न सकिन्छ । दोर्दी गाउँपालिकाले पछिल्लो समय पर्यटन प्रवद्र्धनका कार्यक्रमहरु अघि बढाएको गाउँपालिका अध्यक्ष युवराज अधिकारीका स्वकीय सचिव हरिबहादुर घिमिरेले बताउनुभयो ।